मनाङबाट गण्डकी प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित राजीव गुरूङ 'दीपक मनाङे' ले स्वतन्त्र सांसदको हैसियत मागेका छन्।
स्वतन्त्र उम्मेदवार बनेर सर्वसम्मत बनेका मनाङे निर्वाचित भएपछि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए।
मनाङबाट स्वतन्त्र रूपमा चुनाव जितेको भन्दै उनले पार्टी परित्याग गरी स्वतन्त्र सांसदको हैसियत मागेका हुन्।
'माननीय राजीव गुरूङले एकीकृत समाजवादी पार्टी छाडेर स्वतन्त्र सांसदको हैसियत पाऊँ भनेर निवेदन दिनुभएको छ,' गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलले सेतोपाटीलाई भने, 'यसबारे नेकपा एकीकृत समाजवादीले नै निर्णय गर्ला।'
निर्वाचन आयोगले मनाङेलाई स्वतन्त्र सांसदको हैसियत दिएको उनले बताए। सांसद निर्वाचित भएपछि भने उनले नेकपा एकीकृत समाजवादी पार्टी सदस्यता लिएर सोही दलको सांसद बनेका थिए।
सांसद मनाङेले स्वतन्त्र हैसियत माग गरे पनि यसबारे निर्वाचन आयोगले निर्णय गर्ने पोखरेलले बताए।
मनाङेले स्वतन्त्र हैसियत माग गरेसँगै गण्डकीको राजनीतिमा नयाँ आशंका जन्मिएको छ।
केन्द्रमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलको गठबन्धन बनेसँगै गण्डकीमा पनि अहिले भएको कांग्रेस नेतृत्वको सरकार अल्पमतमा छ।
कांग्रेस नेतृत्वको सरकार जोगाउन मनाङे र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई आफ्नो कित्तामा ल्याउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे क्रियाशील छन्। गोरखाबाट माओवादी चुनाव चिह्न लिएर चुनाव जितेका देवकोटा र मनाङे कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँदा अहिले केन्द्रमा बनेको गठबन्धन अनुसार गण्डकीमा बहुमत पुग्दैन। अहिले भएको कांग्रेस नेतृत्वको सरकारको पनि बहुमत पुग्दैन।
गण्डकीमा कांग्रेसको २७, एमालेको २२ माओवादी केन्द्रको देवकोटा र सभामुखसहित ८, राप्रपाको २ र मनाङे गरी ६० सदस्य छन्। माओवादीबाट जितेका कृष्ण धिताल सभामुख भएकाले उनले सरकार बनाउने र गिराउने खेलमा मतदान गर्न पाउँदैनन्।
एमाले र माओवादी गठबन्धनमा देवकोटासहित २९ मत पुग्छ। गण्डकीमा सरकार बनाउन बहुमतका लागि ३१ मत चाहिन्छ। यसमा राप्रपाको दुई सिटले समर्थन जनाउँदा मात्र एमाले र माओवादीको गठबन्धनले बहुमत पाउँछ।
सांसद मनाङे र नेपाल समाजवादी पार्टीका सांसद देवकोटा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएको अवस्थामा उक्त गठबन्धनको २९ मत पुग्छ। यस्तो अवस्थामा कांग्रेस नेतृत्वको सरकार जोगाउन पनि राप्रपाको दुई सिट आवश्यक हुन्छ।
मनाङेले स्वतन्त्र सांसदको हैसियत मागेसँगै गण्डकीको राजनीति नयाँ मोडमा जाने सम्भावना बढेको छ।