संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित तोयम राया अनुमोदन गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीविरूद्ध परेका उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो।
संवैधानिक परिषदबाट प्रस्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदका लागि उपयुक्त देखिएकाले उनको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए।
महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरी गत चैत १८ गते समितिमा पत्र प्राप्त भएको थियो।
संसदीय सुनुवाई समितिको चैत १९ गतेको बैंकको निर्णयअनुसार महालेखापरीक्षक पदका लागि प्रस्तावित व्यक्ति उपर उजुरी दिन १० दिनको अवधि राखेर सूचना प्रकाशन गरिएको थियो।
त्यसअनुसार रायाविरूद्ध एउटा उजुरी र एउटा सूचना प्राप्त भएको थियो।
‘संवैधानिक परिषदबाट सिफारिस तोयम रायालाई महालेखापरीक्षक पदमा प्रस्ताव गर्ने संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाईका लागि नाम प्राप्त भएकोमा संघीय संसदका संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० अनुसार समितिले सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभव समेतको आधारमा सोही नियमावलीको नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित व्यक्तिलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भयो,’ जबराले भने।
संवैधानिक परिषदको गत चैत २८ गते बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई महालेखापरीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखापरीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
-न्युज एजेन्सी नेपाल