वीरगन्जमा मुस्लिम समुदायका लागि विवाह भवन निर्माण भएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका खानेपानी मन्त्री प्रदिप यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगन्ज महानगरपालिकाको संयुक्त लगानीमा भवन निर्माण भएको हो।
मन्त्री यादवले नै विवाह भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले भवन निर्माणले सामाजिक संलग्नता र एकतालाई सुदृढ थप सहयोग पुग्ने बताए।
'यस भवनले मुस्लिम समुदायका सांस्कृतिक गतिविधिहरू प्रोत्साहन गर्दै उनीहरूको संस्कृति तथा परम्परा संरक्षण गर्न महत्त्वपूर्ण योगदान दिनेछ,' उनले भने, 'यो भवन स्थानीय स्रोत र सहकार्यबाट निर्माण गरिएको उत्कृष्ट उदाहरण हो, जसले समुदायको आवश्यकतामा केन्द्रित परियोजनाहरूको महत्त्वलाई उजागर गर्छ।'
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरपालिकाको विकास नीति सबै समुदाय र वर्गका लागि समान रूपमा लाभदायक हुने गरी भवन तयार पारिएको बताए।
उनले वीरगन्जलाई समावेशी, सुरक्षित र समृद्ध महानगरको रूपमा विकसित गर्ने भन्दै प्रत्येक समुदायले सम्मानपूर्वक आफ्नो परम्परा र पहिचान जोगाउने बताए।