कीर्तिपुर नगरपालिकामा हुने मेयर र दुई वटा वडाध्यक्ष पदका उम्मेदवारविरूद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृत ईन्दिरा कार्कीका अनुसार सोमबार अपराह्न ३ बजेसम्म कसैको पनि उजुरी नपरेको हो।
आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको थियो। उक्त समयमा मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका थिए।
वडा नम्बर १ मा ९ जनाले र वडा नम्बर ४ मा १३ जनाले उम्मेदवारी दिएका थिए।
कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन्। यहाँ ३१ हजार ११२ जना मतदाता छन्।
मंगलबार साँझ उम्मेदवारीको नामावली प्रकाशन हुनेछ। मंसिर ५ गते बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्नेछन्।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ।
मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ।