महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा उपचुनावको सरगर्मी व्यापक छ।
मोटरसाइकल दुर्घटनमा वडाध्यक्ष मुकेशकुमार यादवको निधन भएपछि यहाँ उपचुनाव हुन लागेको हो। उनी माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
वडाध्यक्ष पदका लागि ८ दलबाट र १२ जना स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका छन्।
नेकपा (माओवादी केन्द्र)ले दिवंगत वडाध्यक्ष यादवकी श्रीमती आइतीकुमारी यादवलाई उम्मेदवार बनाएको छ।
एमालेबाट सकिबुल खान उम्मेदवार छन्। उनी २०७९ को चुनावमा पनि उम्मेदवार बनेर पराजित भएका थिए।
त्यस्तै नेपाली कांग्रेसबाट मोहम्मद जनिफ खान, जनता समाजवादी पार्टी नेपालबाट नजामुद्दिन खान, जनमत पार्टीबाट पदमा ललिन्द्रकुमार साह, रास्वपाबाट खुर्सेद खान, राप्रपाबाट मोहम्मद मनान खान र राष्ट्रिष जनता पार्टीबाट राजेशकुमार यादव उम्मेदवार छन्।
अशोककुमार यादव, गंगाप्रसाद यादव, धिरेन्द्रप्रसाद यादव, नजामुद्दिन खान, विमलेन्द्रकुमार यादव, मुकेश्वर ठाकुर, मोहम्मद अरमान रजा, मोहम्मद इमामुद्दिन खान, राकेशकुमार यादव, राजदेव यादव, रामअवतार यादव र विजयकुमार यादव स्वतन्त्र उम्मेदवार छन्।
माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले आफ्ना श्रीमानले २ वर्षको अवधिमा वडावासीहरुका लाग धेरै काम गरेको दाबी गरिन्। श्रीमानको कार्यकालमा भएका कामहरुको पूर्णता र बाँकी कामहरूलाई अगाडि बढाउने आफ्नो उद्धेश्य रहेको उनी बताउँछिन्।
रामगोपालपुर-२ मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको गृहवडा हो। एमाले उम्मेदवार साकिबुललाई जिताउन मन्त्री यादवपनि भोट माग्दै हिँडेका पनि छन्।
जनता समाजवादी पार्टीका उम्मेदवार नजामुद्दिन खानले मधेसका लागि केबल जनता समाजवादी पार्टी नेपालले मात्रै गर्ने बताएका छन्। उनले यसपालिको उपनिर्वाचनमा जनताले आफूलाई जिताउने दाबी गरे।
उनले मधेश र मधेशीको हक, अधिकार स्थापित गराउनुदेखि लिएर मधेश र मधेशीका सबै एजेन्डा आफ्नो पार्टीले पूरा गर्ने बताए। रामगोपालपुर–२ का जनताले सबै बेथिति र कमी कमजोरी अन्त्यका लागि आफूलाई मत दिएर जिताउने उनले बताए।
नेपाली काँग्रेसका उम्मेदवार मोहम्मद जनिफ खान पनि जनताको विश्वास आफूमा भएकाले विजयी हुनेमा विश्वस्त रहेको बताउँछन्। मधेस र मधेसी जनताको मुद्दालाई केवल नेपाली कांग्रेसले मात्रै उठाउन सक्ने उनले बताए।
'यस वडामा विकासको नाउँमा भएका अनियमितता, नातावादको अन्त्य गर्न र विकासका लागि उम्मेदवारी दिएको हुँ,' उनले भने।
जनमतका ललिन्द्रकुमार साहले आफ्नो पार्टीले गत चुनावमा लडेर जितेका स्थानहरुमा विकासको लहर ल्याएको बताउँदै जनताले विश्वास गर्ने दाबी गरे।
अहिले मधेश प्रदेशको मुख्यमन्त्री भएर विभिन्न लाभकारी योजनाहरु सञ्चालन गरिहेको र जनताको पक्षमा प्रदेशदेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु गरिरहेकाले मौकाको फाइदा उठाउन आफूलाई मतदान गर्न आग्रह गरे।
उनले यस वडाका सबै थिचोमिचोमा परेका, अन्याय अत्याचारमा परेका, दमन शोषणमा परेका जनता आफ्नो साथमा रहेको र यहाँ नयाँ परिवर्तन हेर्न चाहेकाले यसपालि यहाँ बिल्कुलै नयाँ राजनीतिक पार्टी ‘जनमत पार्टी’ ले नै मौका पाउने र जितेर जनताको जित स्थापित गर्ने बताए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका खुर्सेद खानले वडाध्यक्षमा आफू निर्वाचित हुने दाबी गरेका छन्। देश र जनताको सेवामा समर्पित आफू रहेको उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मो.मनान खान र राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिनुभएका राजेशकुमार यादवले जनताको सुखदुःखमा सधैँ आफूले सहयोग गरेकाले आफूहरु नै चुनाव जित्नेमा विश्वस्त छन्।
यी माथि उल्लिखित पार्टीगत उम्मेदवारका बाहेक यस वडामा १२ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएको छ र सबैको आफू जित्ने दाबी रहेको छ।
निकै प्रतिस्पर्धा हुने यस वडाको वडाध्यक्षको उपनिर्वाचनमा कसको अस्तित्व बच्ने, कसको साख गुम्ने, प्रतिष्ठा कायम रहने, कसले मौका पाउने वा कस्तो चमत्कार हुने कुरा आउँदो मङ्सिर १६ गते हुने उपनिर्वाचनले देखाउने नै छ।
उपनिर्वाचनमा नौ सय ४० जना महिलासहित दुई हजार १४१ जना मतदाता छन्।