एकीकृत समाजवादीको उम्मेदवारले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दिएको उम्मेदवारी निष्क्रिय बनाएका छन्।
नगर प्रमुखका उम्मेदवार भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेका हुन्।
पार्टीले यसअघि नै माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय गरे पनि रिजालले उम्मेदवारी दिएका थिए।
उनले मंगलबार विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका हुन्।
'२०८१ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मैले उम्मेदवारी दिएकोमा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निस्क्रिय गरेको छु,' उनले भनेका छन्।
वडा नम्बर ४ को अध्यक्षमा भने माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सघाउने भएको छ। त्यहाँ एकीकृत समाजवादीले रिता खड्कालाई उम्मेदवार बनाएको छ।
कीर्तिपुरमा माओवादी केन्द्र, एकीकृत समाजवादी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले चुनावी तालमेल गरेर साझा उम्मेदवार तय गरेका छन्।
नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल एक्लाएक्लै प्रतिस्पर्धा गरिरहेका छन्।