नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सदस्यता वितरणका लागि एक सय १३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेको छ।
गत पुस २ गते अध्यक्ष दुजाङ शेर्पाले १२ औं महाधिवेशनको प्रारम्भिक चरणका रूपमा सदस्यता वितरण गर्न क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि तोकेका हुन्।
राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन कार्य पुस ५ गतेदेखि सुरू गरिने पनि अध्यक्ष शेर्पाको भनाइ छ। कांग्रेसले चैतभित्रै नेविसंघको १२ औं महाधिवेशन गर्न निर्देशन समिति पनि बनाएको छ।
नेविसंघमा ७१० जना केन्द्रीय सदस्य छन्। केन्द्रीय सदस्यहरूलाई नै क्याम्पसहरूमा पुगेर सदस्यता वितरण र सुझाव संकलन गर्ने जिम्मेवारीसहित केन्द्रीय प्रतिनिधि तोकिएको हो।
तर पार्टीभित्रको संस्थापनइतर समूहका नेता शेखर कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्यहरूले भने केन्द्रीय प्रतिनिधि तोक्ने अध्यक्ष शेर्पाको निर्णयको विरोध गरेका छन्।
‘केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधि तोकेर पठाइएको भन्ने परिपत्र नेविसंघको हाल मोजुदा विधान २०७५ को सातौं संशोधन भाग २ को धारा ५ अनुसार सदस्यता वितरणसम्बन्धी व्यवस्थाको प्रतिकूल हुने गरी जिल्ला, पालिका, क्याम्पस इकाइ समितिको अधिकारलाई कुण्ठित गर्ने कार्यप्रति खेद प्रकट गर्दछौं,’ केन्द्रीय सदस्य प्रेमिका राना मगरले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
उनले १२ औं महाधिवेशन हुन नदिने षड्यन्त्रप्रति सचेत र सजग रहन पनि भनेकी छन्। गैर सांगठनिक क्रियाकलापमा अध्यक्ष शेर्पाले अग्रसरता देखाएको भन्दै उनले पार्टी निर्देशक समिति र केन्द्रीय समितिबाट छानबिनको मागसमेत गरेकी छन्।
साथै उनले १२ औं महाधिवेशन गर्न छिट्टै केन्द्रीय प्रतिनिधि तोकिने पनि उल्लेख गरेकी छन्। लामो समयदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन।
यस्तो छ विज्ञप्ति: