प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिने जनतासँग प्रधानमन्त्री कार्यक्रम फेरि सुरू भएको छ।
जनतासँग प्रधानमन्त्री कार्यक्रमकै परिस्कृत रूप 'बन्दैछ नेपाल' कार्यक्रम नेपाल टेलिभिजनबाट प्रशारण सुरू भएको हो।
यो कार्यक्रमको पहिलो भाग बुधबार बेलुकी नेपाल टेलिभिजनबाट प्रशारण भएको छ।
कार्यक्रमका प्रस्तोता राजा राजेन्द्र पोखरेल छन्। पोखरेल हास्य कलाकारसमेत हुन्।
पहिलो भागमा काठमाडौं-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा भएका प्रगतिबारे देखाइएको थियो भने जनताका विभिन्न प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिएका थिए।
यो कार्यक्रम नेपाल टेलिभिजनले नै उत्पादन गरेको हो।
कार्यक्रमका प्रस्तोता पोखरेलले बन्दैछ नेपाल कार्यक्रम सातामा एक भाग प्रशारण हुने बताए। यो कार्यक्रम असार मसान्तसम्म प्रशारण हुनेछ।
‘निराशालाई चिर्ने उद्देश्यसहित बन्दैछ नेपाल कार्यक्रम गरिएको हो,’ पोखरेलले सेतोपाटीसँग भने, ‘हामी कार्यक्रममा निर्माण भइरहेका विकास आयोजनाहरूलाई प्राथमिकता दिनेछौं र प्रधानमन्त्रीज्यूसँग प्रश्नोउत्तर हुनेछ।’
जनतासँग प्रधानमन्त्री कार्यक्रम नेपाल टेलिभिजनमा सञ्चालन गर्दै बन्द हुँदै आइरहेको कार्यक्रम हो।
सुरूमा रवि लामिछानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जनतासँग प्रधानमन्त्री कार्यक्रम गरेका थिए।
त्यसपछि पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा वासुदेव शर्मा (बविन) ले कार्यक्रम सञ्चालन गरेका थिए। पछि केपी ओली प्रधानमन्त्री भएका बेला मनोज पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।