४३ वर्षीया जुनी कुमालको परिवार सुकुम्बासी हो।
तीनवटी छोरी, श्रीमान र उनी रत्ननगर-९ स्थित ऐलानी जमिनमा बस्छन्। एउटी छोरीको बिहे भयो, दुइटी पढ्दैछन्। श्रीमान अरूको गाडी चलाउने काम गर्छन्। जुनी मेलापात जान्छिन्। तर त्यसबाट भएको कमाइले खर्च पुगेको छैन।
केही दिनअघि जुनी कुमाल रत्ननगर-९ टिकौलीमा केराको थम्बाबाट रेसा बनाइरहेकी भेटिइन्। यहाँ युएनडिपीले रत्ननगरका बासिन्दालाई केराको थम्बाबाट कपडा बनाउन मिल्ने रेसा (फाइबर) उत्पादन गर्न सिकाएको रहेछ।
'पहिले म केरालाई खाने कुरा मात्रै ठान्थेँ। अरू भागको उपयोग हुन्छ भन्ने थाहा थिएन। यो तालिमले केराबाट कपडा बनाउन सकिन्छ भन्ने थाहा दियो। थम्बाबाट कपडा बनाउने रेसा तयार गर्न जानेँ,' उनले भनिन्, 'हातमा कुनै सीप नहुँदा अर्काको खेतमा काम गरेर ५-७ सय रूपैयाँ कमाउने गरेकी छु। रेसा उत्पादन गरेर बेच्न पाए कमाइ बढ्ने आशा पलाएको छ।'
युएनडिपीले नगरपालिकासँग सहकार्य गरेर खेर गइरहेको केराको थम्बालाई उपयोग गर्न सिकाइरहेको हो।
युएनडिपीका प्रतिनिधि विजय जिसीले थम्बाबाट फाइबर उत्पादन गरेर त्यसमार्फत कपडा तथा हस्तकलाका विभिन्न सामग्री बनाई समुदायको आर्थिकोपार्जन बढाउन काम गरिरहेको बताए। यसका लागि टिकौलीमा स्थित पशु वितरण केन्द्रमा मेसिनहरू राखेर तालिम दिने गरिएको उनले बताए।
यहाँ रत्ननगर नगरपालिकाका १६ वटा वडाहरूका ३० जनालाई फाइबर उत्पादन गर्ने तालिम दिइएको छ। केहीलाई बजारीकरण र व्यापार योजनासम्बन्धी तालिम पनि दिइएको छ। उद्योगकै रूपमा सञ्चालन गरेर यहाँबाट विभिन्न सामग्रीहरू उत्पादन गर्न पनि थालिएको छ।
तालिमका सहजकर्ता रहेका रोबोटिक्स एसोसिएसन अफ नेपालका महासचिव ओमकार जैसवालले तालिम पाएकाहरूले निजी वा सामूहिक रूपमा उद्योग स्थापना गरेर उत्पादन गर्न सक्ने बताए।
'हामी उहाँहरूलाई उद्योग स्थापना, उत्पादनदेखि बजारीकरणसम्म सघाउँछौं,' उनले भने, 'हाम्रो उद्देश्य स्थानीयबासीलाई उत्पादनसँग जोड्ने हो। यसले कपडाका लागि पैसा विदेश पठाउनमा कमी ल्याउने विश्वास गरेका छौं।'
केराको थम्बा खेतबारीमा मलको रूपमा मात्रै प्रयोग हुने गरेको थियो। मेसिनमार्फत फाइबर उत्पादन गर्दा मल पनि निस्किन्छ। त्यसलाई पनि प्याकेजिङ गरेर बिक्री गर्न सकिने जैसवाल बताउँछन्।
'युएनडिपीले केराको थम्बालाई हामीले जिरो-वेस्टबाट पूर्ण प्रयोग कसरी गर्ने, बजारीकरण कसरी गर्ने भनेर काम गरिरहेको छ,' जिसीले भने, 'यसले रोजगारी बढाउँछ। विदेशमा बिक्री गर्न पनि सकिन्छ।'
बागमती प्रदेशका पूर्वसांसद विजय सुवेदीले केराको फाइबरबाट बनेको कपडा लगाउन थालेको दुई वर्ष बढी भयो। उनी प्रायः सार्वजनिक कार्यक्रममा केराको थम्बाबाट बनेको अस्कोट, पाइन्ट, बाँसको रेसाबाट बनेको सर्ट, ढाका टोपी र नेपाली जुत्ता लगाएर उपस्थित हुन्छन्।
'नेपाली उत्पादनलाई प्रोत्साहन गर्न भनेर म पाएसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छु। अन्य कपडाभन्दा आरामदायी, शीतल हुन्छ केराको थम्बाबाट बनेको कपडा,' सुवेदीले भने, 'हामी केरा खाने मात्रै भन्ने सोच्छौं। तर केरा उत्पादन गर्दा कुनै पनि भाग खेर जाँदैन रहेछ। केरा बेच्ने मात्रै नभएर सबै भागको प्रशोधन गरेर बिक्री गर्न सक्यौं भने कमाइ पनि राम्रो हुने देखिन्छ।'
उनले नेपालमा प्रशस्त हुने अल्लो र गाँजाबाट उत्पादन हुने कपडालाई पनि प्रोत्साहन गर्नुपर्ने बताए।
'चितवनमा धेरै सम्भावना केरामै देखिन्छ। युएनडिपी, रोबोटिक्स एसोसिएसन अफ नेपालले तालिम दियो अब यसै छाडेर हुँदैन। सिकेका मान्छेहरूलाई उद्यमी बनाउने र उत्पादित सामग्रीको बजारीकरण गर्न सरकारी निकायले पनि सहयोग गर्नुपर्छ,' सुवेदीले भने, 'यसले बेरोजगारी घटाउन सक्छ। उत्पादन निर्यात गर्न पनि सकिन्छ।'
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केरा सुपरजोनका संयोजक विष्णुहरि पन्तका अनुसार चितवनमा करिब ३ हजार बिघा क्षेत्रफलमा केरा उत्पादन हुन्छ। एक बिघा जमिनमा १८ सय बोट केरा उत्पादन हुन्छ। प्रायः किसानको ध्यान केरा बिक्रीमा मात्रै रहेको र ठूलो परिमाणमा केराका थम्बाहरू प्रयोगविहीन रहेको उनले बताए।
'हामीसँग पर्याप्त थम्बा हुन्छन्। त्यसलाई उपयोग गर्न समस्या छैन,' पन्त भन्छन्, 'थम्बाबाट फाइबर उत्पादन गरेर बिक्री गर्न खोज्नेलाई हामी पनि सघाउँछौं। उद्योग स्थापना गर्न पनि सहयोग गर्न सकिन्छ।'
रोबोटिक्स एसोसिएसन अफ नेपालका महासचिव जैसवालका अनुसार फाइबर र कपडा उत्पादन गर्ने मेसिनहरू नेपालमै बनेका हुन्। थम्बा काटेर ल्याएपछि फाइबर निकाल्ने एक्सट्रयाक्सन मेसिन, रेसा सुकेपछि फाइबरलाई गुणस्तरीय बनाउने कमिङ मेसिन र लुगा बनाउने फ्याब्रिकेसन मेसिन पुराना र बिग्रिएका मेसिनहरूबाट नेपालमै तयार गरिएका हुन्।
जैसवालले सय किलो थम्बाबाट ६ किलो सुख्खा फाइबार उत्पादन गर्न सकिने बताए। यसबाट एक दिनमा १२ हजार रूपैयाँसम्म आम्दानी हुने उनले बताए।
फाइबरबाट ढकिया, कलम होल्डर, फोटो फ्रेम, कपडाका लागि धागो, सेनेटरी प्याड, डोरी, माछाका लागि दाना, जैविक मल उत्पादन गर्ने गरिएको छ।
'हामीले भिगन लेदर पनि उत्पादन गर्ने प्रयास गरिरहेका छौं। युरोप र अमेरिकामा यसको ठूलो माग छ,' जैसवालले भने, 'अबको एक महिनामा यहाँबाट करिब ४० टन सामग्री उत्पादन गर्ने लक्ष्य छ।'
रत्ननगर-३ की गीता सिंखडा उद्यमशील महिला समूह रत्ननगरकी संयोजक हुन्। उनले नगरका ४०० जना महिला उद्यमीसँग समन्वय गरेर केराबाट फाइबर र कपडा उत्पादन गर्ने अभियान सञ्चालन गर्ने बताइन्।
रत्ननगर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक कलाधर पौडेलले नगरबासीलाई उद्यमशीलतासँग जोड्न 'मेयरसँग उद्यमशीलता कार्यक्रम' मार्फत सहयोग गर्दै आएको बताए।
उनी केराको उत्पादनमा विविधिकरण गर्दै किसानहरूको आय बढाउन नगरपालिकाले सहयोग गर्ने बताउँछन्।
चितवनको भरतपुर-२३ का बासिन्दाले पनि केराको फाइबरबाट विभिन्न सामग्रीहरू उत्पादन गरेर बिक्री गर्ने गरेका छन्। वडाको प्रयासमा स्थानीयलाई तालिम दिइएपछि अहिले केराको थम्बा आर्थिकोपार्जनको स्रोत बन्न थालेको वडाध्यक्ष दीपक दवाडीले बताए।