नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसलाई मिसन २०८४ भन्ने छुट नरहेको बताएका छन्।
कांग्रेस २०७९ मंसिरको चुनावबाट देशको सबैभन्दा ठूलो पार्टी बनेको उल्लेख गर्दै उनले काम गर्नुपर्नेमा जोड दिए।
‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन, हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन। हारेकाहरुले हो मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने,’ साउदले शुक्रबार कञ्चनपुरमा आयोजित कार्यक्रममा भने, ‘कांग्रेसलाई जनताले ०७९ मा नै म्यान्डेट दिइसकेका छन् त्यसकारण हामीले ०८४ कुर्नेभन्दा पनि जनताका आकांक्षा र विकासका काममा जुटौं।’
कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको १०० विशेष अभियानमा बोल्दै साउदले पार्टीबाट जितेर गएका तीनवटै तहका जनप्रतिनिधिले उदाहरणीय काम गरे ०८४ मा जनताले आफै कांग्रेसको खोजी गर्ने बताए।
उनले पार्टीलाई विकाससँग जोड्न आवश्यक रहेको बताए।
जनता आकांक्षा र विकासका काममा कांग्रेसको मात्रै नभएर सबै राजनीतिक पार्टीको दायित्व रहेको भन्दै साउदले सस्तो लोकप्रियता धेरै नटिक्ने भएकाले इमान्दारिताका साथ जनताको बीचमा गएर काम गर्नुपर्ने बताए।
‘विकासका आयामहरूबारे पनि जनतालाई बुझाउन आवश्यक छ। जनप्रतिनिधि र पार्टीको संरचनाबीच मह र मौरीकोजस्तै सम्बन्ध रहेको छ,’ साउदले भने, ‘जनप्रतिनिधिले जनतालाई बाँडिरहेको मह पार्टीका कार्यकर्ताले आर्जन गरेको कुरा बिर्सिनु हुँदैन।’
जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउन नहुने उनले बताए।
‘जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ,’ उनले भने, ‘पार्टीमा युवालाई योगदान र कामका आधारमा न्याय दिने कुरामा पनि विश्वास दिलाउन चाहन्छौं।’