राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार धुम्बाराहीमा सुरू भएको छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
अध्यक्ष लिङ्देनको प्रतिवेदनमा नेपाली कांग्रेस र नेकपा (एमाले) दुई दलीय व्यवस्थाको पक्षमा उभिन खोजिरहेको उल्लेख छ।
कांग्रेस र एमाले बहुदलीय व्यवस्था मास्न र दुई दलीय व्यवस्था कायम गर्ने षड्यन्त्रमा लागेको अध्यक्ष लिङ्देनले प्रतिवेदनमा समावेश गरेका छन्।
सामान्यतया संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने परिकल्पना संसदीय व्यवस्थामा नहुने तर नेपालमा कांग्रेस र एमालेले अनौठो अभ्यास गरेको उनको भनाइ छ।
अध्यक्ष लिङ्देनले हिउँदे अधिवेशन छलेर सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको पनि बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले हालै पाँच वटा अध्यादेश जारी गरेका थिए।
यसबीचमा सरकारले माघ १८ गते हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले संघीय संसदका दुवै सदनको अधिवेशन बोलाइसकेका छन्।
अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्युहमा फस्न सक्ने खतरा रहेको पनि उल्लेख गरेका छन्।
आन्दोलन र चुनावका लागि संगठन निर्माणलाई उनले जोड दिएका छन्।
समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसँग उनले सुझाव पनि मागेका छन्। कमल थापा नेतृत्वको राप्रपा नेपालले एकता प्रस्ताव गरे पनि राप्रपा अध्यक्ष लिङ्देनले चासो नदिएको आरोप लागेको थियो।
बैठकमा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन तथा महामन्त्री धवलशमशेर राणाले आन्दोलनसम्बन्धी कार्ययोजना पेस गरेका छन्।
केन्द्रीय समिति बैठक शनिबारसम्म चल्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।