पोखरामा हाइड्रोजन ग्यास भरिएको बेलुन बिष्फोटमा घाइते भएका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्।
कीर्तिपुर अस्पतालमा भर्ना भएर उपचारपछि मेयर आचार्य बिहीबार डिस्चार्ज भएका हुन्।
मेयर आचार्यले धन्यवाद वक्तव्य निकाल्दै उपचार पश्चात आफू डिस्चार्ज भएको जानकारी दिएका छन्।
उनले आफ्नो उपचारमा चासो राख्ने राष्ट्रपति, प्रधानमन्त्रीदेखि अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्।
पोखरा भ्रमण वर्ष २०२५ घोषणा सभाको उद्घाटन सत्रमा बेलुनमा राखेको व्यानर उडाउन खोज्दा अचानक विष्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य जलनको सिकार भएका थिए।
भ्रमण वर्षको उद्घाटन गर्दा स्पार्किङ मेसिनबाट निस्किएको आगोको झिल्को बेलुनमा परेपछि उक्त विष्फोट भएको थियो।
फागुन ३ गते उक्त घटना भएपछि अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिष्टेल अस्प्तालमा प्रारम्भिक उपचारका लागि लगिएको थियो। अस्पतालले उनीहरु दुवैलाई कीर्तिपुर अस्पताल रिफर गरेको थियो।
कीर्तिपुर अस्पतालबाट अर्थमन्त्री पौडेल भने फागुन ५ गते नै डिस्चार्ज भइसकेका छन्। उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ।
कास्की प्रहरीले उक्त घटनामा सलग्न भएको आशंकामा बेलुनमा हाइड्रोजन ग्यास भरेका भारतीय नागरिक कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको कास्की प्रहरीका डिएसपी वसन्त शर्माले बताए।