प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरू नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन्।
शुक्रबार ‘राजेशकाजी श्रेष्ठः व्यक्तित्व र योगदान’ पुस्तक विमोचन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्षित गर्दै टिकटक बन्द गर्नेहरू नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताए।
‘केही मान्छेले हिजो मसँगै बसेर कानूनको मस्यौदा गरेका हुन्। अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसदमा भएका पार्टीहरू खासगरी माओवादी लगायतका पार्टीहरूले हिजो हामीसँगै बसेर कानूनको मस्यौदा बनाएका हुन्। अनि टिकटकमा प्रतिवन्ध नै लगाएका हुन्। अहिले बहुत हिमायति निस्किएका छन् फेरि। बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन्। टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यतिबेला? जे पनि होइन ठिक कुरा बोल्नुपर्छ,’ उनले भने।
व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको उनको दाबी छ।
(न्युज एजेन्सी नेपाल)