नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा माओवादीले सोमबारदेखि सुरू गरेको जनतासँग माओवादी कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनाप्रति माफी मागेका छन्।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूले बोल्न सुरू गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएको बताए।
‘मैले सुरूआतमात्रै के गरेको थिएँ अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै। त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु,’ श्रेष्ठले भने, ‘मैले प्रस्तुत गरेपछि शुभेच्छुक, शुभचिन्तक र आम सर्वसाधारणले पनि त्यसो नगरेको भए पनि हुन्थ्यो। सहेको भए पनि हुन्थ्यो भन्नुभएको छ। जसलाई त्यस्तो नभएको हुन्थ्यो भन्ने परेको छ जसलाई चित्त दुखेको छ। ती सबैप्रति सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु।’
उनले यस्तो कार्यक्रममले माओवादीको जागरण अभियानमा कुनै असर नपर्ने पनि बताए।
भएको के थियो:
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ थालनी गर्ने कार्यक्रम सोमबार झापाको बनियानीमा हुँदै थियो।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गरेको अभियान सुरूआतको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोल्दाबोल्दै रिसाएर माइक छाडेपछि कार्यकर्ताले खल्लो महसुस गरेका छन्।
बोल्दाबोल्दैको मन्तव्य नटुंग्याई कार्यक्रमका उद्घोषकसँग रिसाएका श्रेष्ठ त्यत्तिकै बसेका थिए।
कचनकवलको बनियानीमा आयोजित कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठ सम्बोधन गरिरहेका थिए।
उनले बोलिरहेकै बेला कार्यक्रमको सञ्चालकसमेत रहेका माओवादी झापाका संयोजक राजु आचार्य अग्नी श्रेष्ठको नजिकै गएर उभिए।
‘अग्नीजीले उहाँलाई केही भन्नुभएकै थिएन, नारायणकाजी एक्कासि आवेशमा आउनुभयो, तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखापरेको भन्दै उहाँ रिसाउनुभयो,’ माओवादी झापाका एक नेताले भने, ‘त्यति भनेर उहाँ थप नबोली रिसाउँदै गएर आफ्नो कुर्सीमा बस्नुभयो।’
श्रेष्ठले मन्तव्य टुंग्याउनलाई तपाईं उभिएको हो भनेर सोध्दा झापा संयोजक आचार्यले होइन भनेका थिए। तर, श्रेष्ठ भने रिसाएर मन्तव्य नटुंग्याई माइक छाडेर हिँडेका थिए।
नारायणकाजीपछि बोलेका अध्यक्ष दाहालले भने ‘केही मिस अन्डस्ट्यान्डिङ भएको’ बताएका थिए। बनियानीपछि माओवादीले झापाको राजगढमा कार्यक्रम आयोजना गरेको थियो।
यो पनि:
प्रचण्डको चाहनामा नारायणकाजीको रिसले हालेको भाँजो!