प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी ध्यान, ज्ञान र देवभूमिको रुपमा रहेको बताएका छन्। पाणिनीको भूमिबाटै विश्वव्यापी रुपमा ज्ञानको सुरुवात भएको भन्दै उनले यसलाई विश्वभर चिनाउनुपर्ने बताए।
अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे।
‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो। यहाँबाटै ज्ञानको सुरुवात भयो,’ प्रधानमन्त्री ओलीले भने –‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो। अरु सबै व्याकरणहरुले पाणिनीको सूत्रलाई आधार मानेका छन्, ।
प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता विकासमा समेत प्रयोग भैरहेको बताए।
‘पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो,’ उनले भने।
प्रधानमन्त्री ओलीले पाणिनीले मात्र नभई शिव, सिंग ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पारे।
नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको उल्लेख गर्दै धार्मिक र पर्यटकिय स्थलको रुपमा विकास गर्न जोड दिने बताइ।
पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
‘ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन्, शिवका डमरूको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनीको साधना यहीँ भएको हो,’ उनले भने।
पाणिनी संस्कृत व्याकरणको रचना गरेको स्थलको रुपमा देशभर प्रचलित छ। पाकिस्तानको लाहोरबाट सयौं वर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जंगलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ।
सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गरेका थिए। पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किवंदन्ती रहेको छ ।
ऐतिहासिक एवं प्राचिन स्थल रहेपनि प्रचारप्रसार हुन नसकेको भन्दै प्रदेश सरकार र दुईवटा पालिकाले पाणिनी सम्मेलन आयोजना गरेका हुन्।
दुईदिन सम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ।
नेपाल सरकारले २०७६ सालमा समेटेका १ सय पर्यटकिय गन्तव्यमध्ये पाणिनि तपोभूमिलाई पनि समेटिएको थियो।