उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश पर्यटनको क्षेत्रमा धेरै सम्भावना बोकेको प्रदेश भएको बताएका छन्।
यहाँको पर्यटनले नेपालको अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने पनि उनको भनाइ छ।
तेह्रथुममा बुधबार आयोजित कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभालाई गर्दै उनले कोशीमा पर्यटकीय सम्भावना धेरै रहेको बताए।
‘कोशी प्रदेश छिमेकी देश भारत र चीनसँग जोडिएको प्रदेश हो। विश्वकै अग्लो सगरमाथादेखि होचो कचनाकवलसम्म पर्ने यो प्रदेश हेर्न लायकको प्रदेश हो। तपाईंहरूले पर्यटन वर्ष मनाउँदा प्रदेशको साँस्कृतिक विविधता झल्काउने, साहसिक खेलकुदका गतिविधि गर्न लाग्नुभएको छ। नेपालको मात्र नभई विश्वकै लागि साहसी खेलकुदका खेलाडी र यसमा चासो राख्नेका लागि महत्वपूर्ण थलो हुने विश्वास लिएको छु,’ उनले भने।
पर्यटन वर्षमा पर्यटनमा आधारित भएर हुने गतिविधिले कोशी प्रदेशको मात्र नभई देशकै अर्थतन्त्रमा आएको शिथिलता चलायमान बनाउने पनि उनले बताए।
उपप्रधानमन्त्री सिंहले २८ प्रकारको लालिगुराँस एकै ठाउँमा पाइने स्थलसम्म यहाँ रहेको भन्दै त्यसको प्रचारप्रसार गर्न सके पर्यटकका लागि आकर्षण बन्न सक्ने पनि बताए।
उपप्रधानमन्त्री सिंहले पर्यटकीय क्षेत्रमा सडक लगायतका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताए।
अहिलेको सरकारले जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनको दाबी थियो।