काठमाडौं महानगरका कर्मचारी तथा पेसागत संगठनहरूले मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहलाई कारबाही गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार शाहलाई कारबाहीको माग गर्दै कर्मचारी तथा संगठनहरूले ज्ञापनपत्र बुझाएका हुन्।
'प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरीत अनधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यममार्फत् उपमेयर, वडाध्यक्ष लगायतका व्यक्तिहरूलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लंघन गरेको हुँदा निजलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरियोस्,' ज्ञापनपत्रमा भनिएको छ।
चैत २१ गते मेयर बालेन शाहले कार्यकारी गुरागाईंलाई कार्यालयमा प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। त्यसका बाबजुद गुरागाईंलाई उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूले कार्यालय प्रवेश गराई हाजिर गराएका थिए।
उक्त घटनापछि स्वकीय सचिव भूपदेव शाहले भ्रष्टाचारी कार्यकारीलाई जबर्जस्ती कार्यालय प्रवेश गराएर नाटक मञ्चन गरेको आरोप लगाएका थिए।
यस्तै, कर्मचारी युनियनले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई समेत महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग गरेको छ।