चीन भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन्।
सिपीसीको अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको छलफलमा नेपाल-चीन सम्बन्धको ७० वर्ष पुगेको विषय उल्लेख गरेका थिए।
माओवादी क्रान्तिको प्रेरणा चिनियाँ कम्युनिष्ट पार्टी भएकोसमेत उनको भनाइ थियो।
उनले चिनियाँ र नेपालबीच नागरिकदेखि नागरिक सम्मको सम्बन्ध झन् बलियो हुँदै गएको बताएका थिए।
समाजवादको बाटो नेपालले अंगीकार गरिसकेको अवस्थामा यसका लागि चीनको सहयोग झन् आवश्यक रहेको उनले बताए।
नेपालमा अहिले बहुदलीय व्यवस्था भए पनि लक्ष्य समाजवाद भएको बताउँदै उनले यो तत्कालको लागि मात्र भएको दाबी गरेका थिए।
माओवादी केन्द्र समाजवादी विचारबाट विचलित नभएकोले चीनको साथ आवश्यक भएको उनको धारणा थियो।
छोङ्छिङ कृषि विज्ञान एकेडेमी र भरतपुर नगरपालिकाले एमओयु गरिसकेको उल्लेख गर्दै यस्तो विषयले नेपाल चीन बीचको सम्बन्धलाई थप गहिरो बनाउँदै लाने पनि शर्माले बताए।
कार्यक्रममा चिनियाँ नेता लुइ झिआउले छोङ्छिङ र नेपालबीच एउटा छुट्टै सम्बन्ध बन्ने विश्वास व्यक्त गरेका थिए।