राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले प्रतिगमन रोक्दै संघीयता खारेज गर्नुपर्नेमा जोड दिएका छन्।
पाँच दिने काठमाडौं केन्द्रित आन्दोलनको अन्तिम दिन बूढानीलकण्ठस्थित साप्रेढुङ्गामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले भने, 'प्रतिगमन हुन नदिऔं, संघीयता खारेज गरौँ, त्यसका लागि स्थानीय स्तरमा पुगेर काम गरौँ।'
संघीयता संविधानमा प्रवेश गराइएको समयदेखि नै आफूहरूले विरोध गर्दै आएको स्मरण गराउँदै उनले अहिलेको आन्दोलनलाई अझ उचाइमा लैजान आवश्यक रहेको बताए।
'संघीयता विरूद्धको आन्दोलनलाई जति उठाउनुपर्थ्यो, त्यति हुन सकेको छैन,' भन्दै उनले चेतावनी दिए, 'यदि संघीयता विरूद्धको आन्दोलनलाई उचाइमा नउठाउने हो भने देश सिक्किम बन्न सक्छ।'
राजमोले गणतन्त्र र राष्ट्रियतालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, 'सबै कुरा गौण छन्, मुख्य कुरा राष्ट्र हो।'
उनले राजा हटाइएका कतिपय देशहरूमा पुनर्स्थापनाको उदाहरण दिँदै नेपालमा पनि प्रतिगमनको खतरा कायमै रहेको बताए।
राजमो कार्यकर्ताले आन्दोलनका क्रममा देखाएको अनुशासनको प्रशंसा गर्दै उनले भने, 'मसाल वा राजमोको अनुशासन देखेर विरोधीहरू लोभिन्छन्।'
दुश्मनलाई हराउन पहिले आफूभित्रको कमजोरी हटाउनुपर्ने उल्लेख गर्दै उनले कार्यकर्ताहरू अनुशासित रहेकोमा सन्तोष व्यक्त गरे।