प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन्।
नेकपा एमालेले आज बुटवलमा जनसभा गर्दै छ। सोही जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली बुटवल आउने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बुटवल मण्डपमा हुने जनसभालाई प्रधानमन्त्री ओलीले दिउँसो १ बजे सम्बोधन गर्नेछन्। एमाले रुपन्देहीले पनि जनसभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली आउने तय भएको र सोहीअनुसार तयारी गरेको जनाएको छ।
रुपन्देहीका १६ वटै पालिकासँगै छिमेकी जिल्ला नवलपरासी र कपिलवस्तुबाट समेत ५० हजार जनतालाई जनसभामा सहभागी हुने आकलन गरिएको एमाले सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज पद्यमा अर्यालले बताइन्।
पछिल्लो समय राजनीतिक दलहरु र सरकारविरुद्ध मात्र होइन लोकतन्त्र र गणतन्त्रविरुद्ध समेत नागरिकमा नकारात्मक भ्रम सिर्जना गर्न थालिएकाले त्यसलाई चिर्न जनसभाको आयोजना गरिएको उनले बताइन्। जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिने उनले दाबी गरिन्।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले मुलुकमा राजनीतिक अस्थिरतामा रमाईरहने र प्रतिगामी तत्वहरु सल्बलाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताए। उनले जनसभाले पछिल्ला गैरराजनीतिक घटना र अफबाहलाई चिर्ने दाबी गरे।
‘पछिल्लो समय सामाजिक संजालबाट राजनीतिक दलहरुप्रति भइरहेको नकारात्मक टिप्पणी समेतलाई निस्तेज पार्न जनसभा जरुरी रह्यो,’ अध्यक्ष गैरेले भने।
जनसभा अघि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट कार्यक्रम स्थल बुटवल मण्डपसम्म मोटरसाइकलको र्याली हुने उनले बताए।
जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडल लगायतका नेताहरू बुटवल आउँदै छन्।