अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा लाग्ने भन्सार बढाएर १४५ प्रतिशत पुर्याइएका छन्।
चीनलाई गलाउन भनेर ट्रम्पले सोमबार १०४ प्रतिशत भन्सार घोषणा गरेलगत्तै चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत भन्सार लगाउने घोषणा रिसाएका ट्रम्पले भन्सार बढाएर १४५ प्रतिशत पुर्याउने घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनले पनि अमेरिकाविरूद्धको व्यापार युद्धमा नझुक्ने रणनीति लिएको छ। सोही अनुसार चीनले जबाफी भन्सार घोषणा गरेपछि ट्रम्पले चिनियाँ आयातमा भन्सार बढाएर १४५ प्रतिशत पुर्याएका हुन्।
बिहीबार उनले चीनमाथि १२५ प्रतिशत थप भन्सार लगाउने घोषणा गरेका थिए। यसअघि कायम रहेको २० प्रतिशत जोड्दा चीनमाथिको भन्सार १४५ प्रतिशत हुन आउने द न्युयोर्क टाइम्सले जनाएको छ।
चीनमाथि भन्सार बढाएर १४५ प्रतिशत पुर्याइएको ह्वाइट हाउसले पनि पुष्टी गरेको छ।
ट्रम्पले ७० भन्दा बढी देशहरूलाई लगाएको पारस्परिक भन्सार भने ९० दिनका लागि रोकेका छन्।
ती देशहरूले अमेरिकी कर नीतिको विरोध नजनाएको जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको देखिएकाल ९० दिनका लागि रेसिप्रोकल भन्सार रोकेका थिए।
अमेरिकाले भन्सार बढाएर १४५ प्रतिशत पुर्याएको विषयमा चीनले के गर्छ भन्ने हेर्न बाँकी छ।
ट्रम्पले चीनमाथि भन्सार दर बढाउँदै जाँदा चीनले अब अमेरिकालाई लुट्न नसक्ने बताउँदै आएका छन्। यद्यपि चीन अमेरिकाको ठूलोमध्यको व्यापारिक साझेदार हो। ट्रम्पले बढाएको भन्सार दरको मार चीनले मात्रै होइन अमेरिकीहरूले पनि खेप्नुपर्ने हुनसक्छ।
ट्रम्पले भने केही समय गाह्रो भए पनि जित अमेरिकाकै हुने दाबी गर्दै आएका छन्।
सन् २०२४ मा अमेरिकासँगको व्यापारमा चीनलाई २ खर्ब ९५ अर्ब डलरभन्दा बढीको फाइदा भएको थियो। अहिले चिनियाँ उत्पादनमा सबभन्दा बढी १४५ प्रतिशत भन्सार लगाइएकाले अरूको तुलनामा चिनियाँ उत्पादन अमेरिकामा धेरै महँगो पर्नेछ।
यस्तोमा विश्वको सबभन्दा ठूलो बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि चीनले अरू देशमा आफ्ना सस्ता उत्पादन पठाउने सम्भावना रहन्छ।
चीनले यसो गरेको खण्डमा ती देशले पनि आफ्नो आन्तरिक उद्योग जोगाउन चिनियाँ उत्पादनमा भन्सार महसुल बढाउन सक्छन्। कतिपय देशले यस्तो तयारी थालिसकेको केही पश्चिमा सञ्चारमाध्यमले लेखेका छन्।
यस्तो भए अमेरिकासँग मात्र नभएर चीनसँग पनि धेरै देशको व्यापार युद्ध चर्किने देखिन्छ।
यो व्यापार युद्धले आफूलाई धेरै नोक्सानी हुनेछ भन्ने चीनले बुझेको छ। त्यसैले ट्रम्पले सुरूमा १० प्रतिशत भन्सार लगाएदेखि नै चीनले वार्ताको प्रयास गरेको मानिन्छ।
ट्रम्पले भने आफू केन्द्रविन्दुमा रहने गरी सिधै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग मात्र वार्ता गर्न चाहेको बुझिन्छ। त्यही भएर चीनले मन्त्रीस्तरीय वार्ताको पहल गर्दा पनि अमेरिकाले चासो नदेखाएको पश्चिमा सञ्चारमाध्यमहरूले लेखेका छन्।
चीनलाई जसरी भए पनि झुकाएरै छाड्ने नियत ट्रम्पले देखाएको चिनियाँ पक्षको ठहर छ। चीनले भने कुनै हालतमा नझुक्ने निर्णय लिएको देखिन्छ। बरू अन्तिम समयसम्म लड्ने बताएको छ। चीनले देखाएको यो दृढताका पछाडि पनि कारण छ।
यो व्यापार युद्धबाट सुरूमा घाटा बेहोर्नुपरे पनि आखिरमा जित आफ्नै हुन्छ भन्ने चीनले ठानेको विश्लेषकहरू बताउँछन्।
ट्रम्पले चीनसँग मात्र नभएर सबै व्यापारिक साझेदारहरूसँग युद्ध थालेकाले यही मौकामा अरू देशसँग सम्बन्ध सुधार्न सकिने अवसर पनि चीनले देखेको छ। अमेरिकाले भन्सार फिर्ता नलिए अरू देश विकल्प खोज्दै आफूकहाँ आउँछन् भन्ने चीनको आकलन छ। अहिलेको परिस्थितिमा जापान, कोरिया, युरोपियन युनियन लगायतले आफूसँग खुला व्यापार सम्झौता गर्न चाहने चीनको ठम्याइ छ।
यी सबै परिस्थिति मूल्यांकन गर्दै चीनले भन्सार युद्धको मार कम गर्न आन्तरिक खपत बढाउन थप कदम चाल्ने देखिन्छ।