नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको कतिपय मागहरू सरकारले तत्काल पूरा गर्न सक्ने बताएका छन्।
मन्त्रिपरिषद तथा मन्त्रालयले निर्णय गरेर शिक्षकहरूले अघि सारेका करिब १५ वटा माग पूरा गर्न सकिने भन्दै उनले आजै ती माग पूरा गरी शिक्षकहरूलाई विश्वासको वातावरणमा ल्याउन सरकारलाई सुझाव दिएका हुन्।
नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंको माइतीघर-बबरमहल-बानेश्वर क्षेत्रका सडकमा प्रदर्शनरत छन्।
शिक्षकहरूसँग सरकारले वार्ता पनि गरिराखेको छ। विगतमा सरकारसँग भएका सहमतिलाई समेट्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न शिक्षकहरूले माग गरेका हुन्।
कांग्रेस महामन्त्री थापाले शुक्रबार एक भिडिओ सन्देश जारी गर्दै शिक्षकहरूका कतिपय माग मन्त्रिपरिषद र मन्त्रालयबाट निर्णय गरी पूरा गर्न सकिने र बाँकी माग शिक्षा विधेयकमै समेट्ने खालका रहेको बताएका हुन्।
महामन्त्री थापाले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्न पनि सरकारलाई सुझाव दिएका छन्। मिति नै तोकेर विद्यालय शिक्षा विधेयकबारे छलफल र पारित गर्ने समय दिए मात्रै शिक्षकहरूलाई विश्वासमा ल्याउन सकिने उनको धारणा छ।
भिडिओ: