नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले सगरमाथा संवादबारे साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभागले ध्यानाकर्षण गराएको हो। जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद हुँदैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर विभागका माधव सापकोटासहितको टोलीले यस कार्यक्रमका लागि विगतमा भएका प्रयास समेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचारभन्दा माथि उठेर यसलाई सफल बनाउनुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका थिए।
यसलाई सफल बनाउन विभिन्न राजनीतिक दलसँग पत्राचार गरिने उनले बताए।
सरकारले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो।