नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकार बेथिति र भ्रष्टाचारतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको सट्टा सरकार आफ्नो अनुहार उदांगो बनाएर भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काममा लागिरहेको बताए।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत बुधबार पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारी र पाल्हीनन्दनमा आयोजना गरेको खबरदारी जनसभामा प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘यो देशमा अहिले भ्रष्टाचारीहरूका कारणले जनताको विकास र समृद्धिको आकांक्षामाथि कुठाराघात भएको छ,’ अध्यक्ष प्रचण्डले भने।
माओवादी नेतृत्वकै सरकारले सुशासनको पक्षमा र भ्रष्टाचार जस्तो महारोगको विरूद्ध लडाइँ लडेको दाबी गर्दै प्रचण्डले भ्रष्टचारीहरूलाई उदांगो पार्न पनि यो अभियान सञ्चालन गरेको बताए।
‘माओवादी नेतृत्वको सरकारले सामाजिक विभेद, सुशासनको पक्षमा र भ्रष्टाचारविरूद्ध लडाइँ लडेकै कारण सरकार ढालियो,’ उनले भने, ‘अहिले सञ्चालन गरिएको तराई मधेस जागरण अभियान पनि भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा नै हो।’
प्रचण्डले रोकिएको हुलाकी राजमार्गको कामलाई आफूले तीव्रता दिएको पनि दाबी गरे।
आफू प्रधानमन्त्री भएको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खरो कुरा नगरेको भए भारतले रोकिएको हुलाकी राजमार्गको कामलाई अघि नबढाउने उनको दाबी थियो।
‘भारत भ्रमणका क्रममा मैले नरेन्द्र मोदी जीसँग खरो खरो कुरा गरेँ कि, हुलाकी राजमार्ग भारत सरकारले गर्ने समझदारी छ। तपाईंहरू बनाउनुहुन्छ कि म नेपालकै बजेटबाट काम सुरू गरौं भनेपछि मोदी जीले तपाईंहरू अघि बढ्नुस् भन्नुभयो र भारत भ्रमणपछि मैले २०७३ सालमा सिराहाको बरियारपट्टीबाट शिलान्यास गरे पश्चात काम सुरू भयो,’ प्रचण्डले भने।
वर्षौदेखि लथालिङ्ग भई काम अगाडि बढ्न नसकेको हुलाकी राजमार्गको कामलाई आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि अघि बढाएको उनको तर्क थियो।
आफूले सुरू गरेको कामले अहिलेसम्म पूर्णता नपाएको भन्दै उनले बाँकी कामलाई समयमा सम्पन्न गराउन सरकारलाई दबाब दिने बताए।