नेपाली कांग्रेसले सत्तारूढ गठबन्धन दलहरूभित्र अझै समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार करिब तीन घन्टासम्म चलेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गठबन्धन दलहरूभित्र अझै समन्वयको आवश्यकता औंल्याएको हो।
पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरू पनि सरिक थिए।
कांग्रेस सम्मिलित केपी शर्मा ओली नेतृत्वको सरकारको कारकारबाहीको गतिलाई लिएर पार्टीभित्र आवाज उठिरहेका बेला सभापति देउवाले छलफल राखेका हुन्।
नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाही सुस्त भएकोमा टिप्पणी गरेका थिए।
बूढानीलकण्ठमा भएको छलफलपछि प्रवक्ता प्रकाशशरण महतले गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलनको खाँचो रहेको कुरा छलफलमा उठेको बताए।
‘पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समग्र राजनीतिक परिस्थितिबारे विश्लेषण भयो। शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकलगायतमा पनि कुराकानी गर्यौं,’ उनले भने, ‘भ्रातृ संस्थालाई अधिवेशन हुन सक्ने आधार छ कि छैन भनेर प्रतिवेदन पनि मागेका छौं। प्रतिवेदनका आधारमा केन्द्रीय समितिका लागि प्रस्ताव तयार हुन्छ।’
सरकारका कामकारबाहीबारे पनि छलफल भएको उनले बताए।
‘सरकारका प्रस्तुती अझै राम्रो हुनुपर्छ, गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलन हुनुपर्यो भन्ने कुराहरू आएको छ,’ उनले भने, ‘गठबन्धन दलसँग नियुक्ति लगायतमा तालमेल मिल्नुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो।’
छलफलमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राखेका थिए। ‘सुधार र थप समन्वयको आवश्यकता हुन्छ, गराउँछौं’ भन्ने कुरा सभापति देउवाको थियो।
सरकारका कामकारबाहीबारे बाहिर धारणा राख्नुअघि संयन्त्रमा राख्ने र त्यसबाट हल नभए मात्र बाहिर कुरा राख्ने विषयमा पनि सभापति देउवाले पदाधिकारीहरूको ध्यानाकर्षण गराएका थिए।
बैठकमा प्रवक्ता महतले पनि गठबन्धन र सरकारबारे केही कुरा भए संयन्त्रमा कुरा राख्न सकिने विषय राखेका थिए।