राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन्।
मन्त्रालयले त्यस्ता गतिविधि भए कानुन अनुसार कारबाही हुनेबारे सचेत गराएको छ।
मन्त्रालयले संविधानको ठाडो उल्लंघन गर्न प्रोत्साहन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ।
'यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने ब्योहरा सूचित गरिन्छ। साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने निर्णय पार्टीको बैठकबाटै गरेको थियो।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरको थियो।
चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा प्रहरी हिरासतमा छन्।
उनीहरुको रिहाइको माग गर्दै आन्दोलनलाई सशक्त बनाउँदै लैजाने निर्णय राप्रपाले गरेको थियो।