भरतपुरको गोन्द्राङदेखि नारायणघाटको पुल्चोकसम्मको ६ लेन सडक शिलान्यास भएको ४ वर्षपछि शुक्रबार उद्घाटन गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको उद्घाटन गर्दैछन्।
नारायणघाट–गोन्द्राङ सडक निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७७ माघ २७ गते गरेका थिए।
उक्त दिन ओलीले सिटी हलको पनि शिलान्यास गरेका थिए। शिलान्यास गरेको ठाउँ भरतपुर विमानस्थल अगाडि नै उद्घाटन कार्यक्रम राखिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।
एसियन मापदण्डको हाइवे अन्तर्गत ६.०८ किलोमिटर लामो सडक निर्माणको काम गत पुस २८ गते नै सकिए पनि सिटी हल भने अझै तयार भएको छैन।
१ अर्ब १२ करोड रुपैयाँ लागतमा सगुन कन्स्ट्रक्सन प्रा.लि.ले सडक विस्तारको काम गरेको हो।
प्रालिले सडक निर्माणको काम सकेर सडक डिभिजन कार्यालय भरतपुरलाई हस्तान्तरण समेत गरिसकेको छ। निर्माण सकिएको पाँच वर्षसम्म सडक बिग्रिएमा मर्मतको काम सोही निर्माण कम्पनीले नै गरिदिने सम्झौता छ।
पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ। सडक विस्तारसँगै दुवैतर्फ ६ सय बत्ती जडानको काम पनि सकिएको छ।
५० मिटर चौडाइ रहने ६ लेन सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विद्युत अन्डरग्राउन्ड गरिएको छ। चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरूङ्गा घोलमा जाने गरी ड्रेन तयार गरिएको छ।
प्रधानमन्त्री ओलीले शुक्रबार इच्छाकामना गाउँपालिकाको भवन उद्घाटन र नारायणगढ-बुटवल सडक निरीक्षण पनि गर्नेछन्।
शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले गाउँपालिका भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए। सोही अवसरमा उनले गाउँपालिकाका सक्रिय पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार नै एमाले भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशनको पनि उद्घाटन गर्ने कार्यक्रम छ। भरतपुरको क्यान्सर अस्पतालस्थित अडिटोरियम हलमा महानगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले चितवन अध्यक्ष कमलराज पाठकले जानकारी दिए।
प्रधानमन्त्री ओलीले त्यसलगत्तै नारायणगढ–बुटवल सडकखण्डको अनुगमन/निरीक्षण गर्ने कार्यक्रम छ। साथै नवलपुरका जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम पनि राखिएको छ। ओली नेपाली सेनाको हेलिकप्टर चढेर चितवन आउने कार्यक्रम छ।