नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीलाई जनमतको कमी नरहेको बताएका हुन्।
उनले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गरे।
‘त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट,अझै म भन्छुः हाम्रा साथीहरू लाखौंको संख्यामा सहकारी संगठनमा आवद्ध छन्,’ उनले भने, ‘एनजिओ, आइएनजिओमा संलग्न छन्। तिनीहरूको लाखौं भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन। सजिलै गरी अरूलाई हामीले उछिन्ने थियौं। हामीसँग जनताको मतको कमी छैन।’
अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको बताए।
‘अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ। कालीकोट पुगेर आएँ। रासकोटमा पुगेर आएँ। हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौंको जुलुस कार्यक्रममा सहभागिता देखेँ। रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौं, हजार मानिसको सहभागिता देखेको थिएँ,’ उनले भने, ‘अनि मैले भनेँः तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ। यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो। अरू पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ।’