नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन साउनमा गर्ने निर्णय भएको छ।
ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति संघको तेस्रो राष्ट्रिय महाधिवेशन साउन ३० र ३१ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने निर्णय भएको सभापति दिनेश थापा मगरले जानकारी दिए।
‘जागरण, रूपान्तरण र मगर एकता’ भन्ने मूल नाराका साथ महाधिवेशन हुने उनले बताए।
महाधिवेशन सम्पन्न गर्न सभापति दिनेश थापा मगरको अध्यक्षतामा १०१ मूल व्यवस्थापन समिति गठन भएको छ।
रिक्त केन्द्रीय सदस्य पदमा नेपाल राष्ट्रिय मगर संघ कोशी प्रदेशको निवर्तमान सभापति जगत राना मगर र सरिता राना मगरलाई मनोनयन गर्ने निर्णय भएको छ।
प्रदेश अधिवेशन गर्न बाँकी रहेका बागमती, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन ०८२ जेठ मसान्तसम्म गर्ने निर्णय भएको उनको भनाइ छ।
संघको केन्द्रीय मुखपत्र "मगर सन्देश" को महाधिवेशन विशेषांक प्रकाशन गर्न केन्द्रीय सदस्य रामबहादुर थापामगरलाई जिम्मेवारी दिने निर्णय भएको छ।
तेस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन भएको छ।
प्रचार उपसमिति संयोजकमा सहमहामन्त्री जितराज रानामगर, आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष कृष्ण थापामगर, खाना तथा वास व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य कोकिल अस्त्तानीमगर र प्रतिनिधि दर्ता उपसमितिमा केन्द्रीय सदस्य सरिता रानामगरलाई जिम्मेवारी दिइएको उनले बताए।