हार्वर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूको लागि केन्द्रित गरेको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा सन् २०२५ का लागि नेपालबाट गोविन्द परियार छानिएका छन्।
यो कार्यक्रमका लागि परियार अहिले बोष्टनमा रहेको हार्वर्ड विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हार्वर्ड केनेडी स्कुलमा अध्ययनरत छन्।
विश्वको राजनीतिक परिवेश, राजनीतिक मुद्दाहरू, एजेण्डा छनोट, राजनीतिमा टेक्नोलोजीको प्रयोग, आर्टिफिसियल इन्टेलिजेन्ट, द्वन्द्व व्यवस्थापनलगायत विविध विषयमा हार्वड विश्वविद्यालयका प्राध्यापकहरूले यस कार्यक्रममा पढाउनेछन्।
कार्यक्रममा विभिन्न देशका ५० जना सहभागी छन्।
परियारले आफू अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘उदयमान नेता’ कार्यक्रमका लागि छनोट भएको बताए।
यो कार्यक्रमका लागि विश्वका विभिन्न देशका राजनीतिकर्मी, सरकारी उच्च पदमा रहेका व्यक्तिहरूका साथै निजी क्षेत्रको कार्यकारी पदमा बसेका व्यक्तिहरूको सहभागिता रहेको उनले बताए।
परियार यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रेस सल्लाहकारको भूमिकामा थिए भने अहिले पनि सभापति देउवाको प्रेस सल्लाहकार छन्।
उनी कांग्रेस महासमिति सदस्य र केन्द्रीय जनसम्पर्क समन्वय विभागको सदस्य पनि छन्।
समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले अमेरिकी सरकारको छात्रवृत्तिमा अमेरिकाको ओहायो विश्वविद्यालयबाट अमेरिकन मिडिया र सञ्चारसमेत अध्ययन गरेका थिए।