काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईविरूद्ध मुद्दा दायर भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले राईविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनीमाथि यस प्रकरणमा पूरक अनुसन्धान भएको हो।
उनी २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म उक्त संस्थाकी सदस्य रहेकी थिइन्। त्यस समयमा ८९ लाख ३४ हजार ४५५ रुपैयाँ र २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सचिव पदमा रहँदा कार्यसमितिको नाममा भएको एक करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ गरी जम्मा दुई करोड ३१ लाख ४४ हजार ८८८ रुपैयाँ अपचलन भएको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ।
सरकारी वकिलले उनको कार्यकालमा उक्त रकम बराबरको हिनामिना भएको भन्दै बिगो रकम कायम गरेको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए।
उक्त रकम ठगी गरेको भन्दै सरकारी वकिलले ठगी तगा संगठित कसुरमा सजाय माग गरेको छ।
त्यस्तै सरकारी वकिल कार्यालयले गितेन्द्रबाबु (जिबी) राईसहित पदाधिकारीविरूद्ध थप ३७ लाख ३५ हजार ८४३ रुपैयाँ क्षतिपूर्ति भरपाइ पनि माग गरेको छ।
पीडितहरूले यसअघि आफ्नो जाहेरी छुटेको भन्दै थप जाहेरी परेको आधारमा उक्त रकम कायम गरेको काफ्लेले बताए।
गत पुस २९ गते सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
पहिलो चरणमा अनुसन्धान गर्दा सरकारी वकिलले उनलाई प्रतिवादी नबनाइ मुद्दा दायर गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको उक्त मुद्दामा सरकारी वकिलले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरेको थियो।
त्यतिबेला सरकारी वकिलले माया राईको तीनपुस्ते नखुलेको भन्दै प्रतिवादी कायम गरेको थिएन।
कांग्रेस सांसद राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना भएको थियो। त्यसपछि सरकारी वकिलले अनुसन्धान गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए।
त्यस मुद्दामा लामिछाने भने ६० लाख धरौटी बुझाएर छुटेका थिए।