सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारीलाई काज फिर्ताको पत्र काटेका छन्।
मेयर बस्नेतले अख्तियारमा कार्यरत पाँचौं तहकी कर्मचारी अम्बिका दाहाल ओझालाई काजफिर्ता हुन भन्दै पत्र काटेका हुन्। उनी बाह्रबिसे नगरपालिकाको महिला विकास निरीक्षक पदमा कार्यरत भए पनि उनी काजमा अख्तियारमा थिइन्।
‘केही समयदेखि तपाईं हालसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा काजमा रहिरहनु भएकोमा निजामती सेवा ऐन २०४९ को परिच्छेद ४ को दफा १८ (क) अनुसार निजामती कर्मचारीलाई निज कार्यरत रहेको मन्त्रालय, सचिवालय, आयोग, विभाग वा कार्यालयबाट सोही निकायको काममा मात्र अन्य स्थानमा काज खटाउन सकिनेछ। यसरी काज खटाउँदा १ वर्षमा ३ महिनाभन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन भन्ने व्यवस्था भएकोले ७ दिनभित्र यस बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब भत्ता यस कार्यालयबाट भुक्तानी नहुने व्यहोरासमेत अनुरोध छ,’ बस्नेतले काटेको पत्रमा भनिएको छ।
बस्नेतले क्षेत्राधिकारभन्दा बाहिर गएर पत्र काटेको भन्दै अहिले टिप्पणी भइरहेको छ।
यसलाई कतिपयले नेपाली कांग्रेसका सांसद मोहन बस्नेतविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको विषयसँग जोडेर पनि चर्चा गरेका छन्।
आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको थियो।
उनीहरूविरूद्ध जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो।