राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा राष्ट्रपति पौडेलले भने, ‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु।’
उनले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्वपूर्ण योगदान रहेको बताए।
‘पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिनेनै छ भन्ने मैले विश्वास लिएको छु, हज कार्यलाई व्यवस्थितरुपबाट सञ्चालन गर्न समयानुकूल आवश्यक नीति, नियम र प्रवन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
सो असवरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिए। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलो पटक यसरी हजयात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामना सहित बिदाइ गरिनु गौरवको विषय भएको बताए।