नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न भएको मतदान सकिएको छ।
पोखरामा भएको दशौं महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि मंगलबार बिहानदेखि मतदान भएको थियो।
युवा संघका अनुसार कुल मतदाता १ हजार ७६५ जनामध्ये १ हजार ४०४ जनाले मतदान गरेका छन्।
निर्वाचन समितिले मतदानका लागि ९ वटा क्षेत्रमा ४० बुथ बनाएर निर्वाचन सम्पन्न गरेको युवा संघका इन्चार्ज राजीव पहारीले बताए।
अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीबीच प्रतिस्पर्धा भएको हो।
उनीहरूले पदाधिकारी र केन्द्रीय समिति सदस्यका लागि पनि प्यानल बनाएका थिए।
थेबे यसअघि महासचिव हुँदै संघको नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षको उम्मेवार बनेका हुन्। अध्यक्षका उम्मेदवार थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवार छन्।
अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार बनेका छन्।
युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रीय समितिमा ४ सय जना बढीले उम्मेदवारी पेश गरेको संघका इन्चार्ज पहारीले जानकारी दिए। मतदान सकिएसँगै मतगणनाको तयारी थालिएको छ।
इन्चार्ज पहारीका अनुसार आजै मतपरिणाम घोषणा गरेर सपथग्रहण गराउने तयारी गरिएको छ।
‘मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण तरिकाले सम्पन्न गरिएको छ। अब हामी मतपरिणाम घोषणाको तयारीमा छौं,’ उनले भने, नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण पनि आजै गराउँछौं।’
शुक्रबारदेखि सुरू भएको संघको दशौं महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।