राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बिहीबारदेखि सुरू भएको 'जनआन्दोलन'मा भएको जनसहभागितालाई उत्सादप्रद भनेको छ।
'जनआन्दोलन'को विषयमा छलफल गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई दिनमा देखिएको जनसहभागिता उत्साजनक रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आन्दोलनको समीक्षा, सहभागीहरूको व्यवस्थापन र आगामी रणनीति गरी तीन विषयमा आजको बैठकमा छलफल केन्द्रित थियो।
'तेस्रो दिनको आन्दोलनमा आइपुग्दा जनसहभागीता उत्साहजनक छ। अझै कसरी व्यवस्थित र जनसहभागीता अझै कसरी बढाउन सकिन्छ र कुन रणनीति अवलम्बन गर्ने भन्ने बारेमा छलफल भयो,' प्रवक्ता श्रेष्ठले भने।
प्रदर्शनमा काठमाडौंबाहिरबाट पनि मानिसहरू आएका छन्। उनीहरूलाई हुन सक्ने असुविधाप्रति पनि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। र अझै जनसहभागिता बढाउन के-के गर्ने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ।
'त्यसका लागि अझै बढी संवाद जारी राख्ने, भेटघाट र अझै बढी बैठकहरू गर्ने, स्थानीय तहमा सक्रियता बढाउने र त्यहाँबाट सहभागीता बढाउने विषयमा छलफल भएको छ,' प्रवक्ता श्रेष्ठले भने।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आह्वानमा बिहीबारदेखि माइतीघर-बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेको छ।