राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ? भन्ने आरोप प्रतिपक्षको नभए पनि छानबिन सहज बनाउन उनले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।
उनले भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठाए।
सरकारले किन कारबाही गरेन? अख्तियार स्वतःफूर्त रूपमा अघि बढ्नुपर्ने स्थिति किन आयो? उनको प्रश्न छ।
गृहमन्त्री पदमै रहँदा छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उनको भनाइ छ।
उनले भने, ‘गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने प्रतिपक्षको विषय छैन, होइन। तर छानबिनका निमित्त उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुभयो भने सजिलो हुन्छ। अनि भिजिट भिसा प्रकरणको आवरणमा मानव तस्करीमा संलग्न कर्मचारीलाई सरकारले किन कारबाही गरेन? अख्तियार नै अगाडि बढ्नुपर्ने स्थिति किन पैदा भयो? त्यसकारण यसमा तालमेल मिलेको छ या छैन? यो कुरा त छानबिन पछि आउँला। तर अहिले जुन विषय उठेको छ। त्यही ओहोदामा रहँदा छानबिन गर्न अप्ठेरो हुने भएकोले कानूनी ढंगमा पनि उहाँले राजीनामा दिँदा उपयुक्त हुन्छ।’
सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको समेत उनको आरोप छ। —न्युज एजेन्सी नेपाल