पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सांसद माधवकुमार नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको जानकारी संसदमा पुगेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेर सांसद नेपालविरूद्धको भ्रष्टाचार मुद्दा अदालतमा दर्ता भएको जानकारी दिएको हो।
सांसदविरूद्ध मुद्दा दर्ता भएपछि मुद्दा लैजाने निकालयले संघीय संसद सचिवालयलाई जानकारी दिनुपर्छ।
संसद सचिवालयले मुद्दा दर्ता भएको सूचना प्राप्त गरेपछि सम्बन्धित सांसदको पद स्वतः निलम्बित हुन्छ।
नेपालको पनि सांसद पद स्वतः निलम्बित भइसकेको छ।
काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिएको तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।
अध्यक्ष नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो। पूर्वकानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्तलगायतविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।