अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला र स्पेसएक्सका मालिक इलन मस्कसँगको सम्बन्ध सुधार गर्न इच्छा नरहेको बताएका छन्।
शनिबार अमेरिकी मिडिया एनबिसीसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले मस्कसँग सम्बन्ध सुधार गर्ने रूचि नरहेको बताएका हुन्।
उनले मस्कसँग पछिल्लो समयको विवादबारे वार्ता वा संवाद गर्ने कुनै योजना र तयारी पनि नरहेको बताएका छन्।
ट्रम्पले मस्क ह्वाइट हाउस र देशको राष्ट्रपतिको अपमान गरेको पनि बताएका छन्।
ट्रम्पले मस्क र उनीसँग भएको विवादको विषयमा सोचेर समय खेर नफालेको पनि बताएका छन्।
राष्ट्रपति ट्रम्पसँग झगडा परेपछि मस्कले डेमोक्र्याटिक पार्टीलाई चन्दा दिन लागेको भनेर अमेरिकी मिडियाहरूले लेखेका थिए। मस्क आफैले पनि अमेरिकामा अब ८० प्रतिशतभन्दा बढी मध्यमवर्गीय मानिसहरूको नयाँ पार्टी खोल्नुपर्ने बताएका थिए।
ट्रम्पले डेमोक्र्याटहरूलाई चन्दा दिए मस्कले गम्भीर परिणाम ब्यहोर्नुपर्ने चेतावनी पनि दिएका छन्।
मस्कले ट्रम्प सरकारले प्रस्ताव गरेको कर र खर्चसम्बन्धी विधेयकको पक्षमा मतदान गर्ने रिपब्लिकन विरूद्धका डेमोक्र्याट उम्मेदवारहरूलाई चन्दा दिएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ। यसरो गरे मस्कले गम्भीर परिणाम ब्यहोर्नुपर्ने ट्रम्पले बताएका छन्।
सो विधेयकमा कर छुट कटौती, रक्षा खर्चमा वृद्धि र वैदेशिक ऋण लिनसक्ने प्रावधान राखिएको छ। उक्त विधेयकले मस्कको टेस्लालाई दिँदै आएको कर छुट पनि कटौती हुने तय थियो। त्यसकारण मस्कले राष्ट्रपतिको उक्त विधेयकलाई घृणित र घिनलाग्दो भनेका थिए।
'मलाई माफ गर्नुहोस्, तर म यो अब सहन सक्दिनँ,' आफ्नो सामाजिक सञ्जाल एक्समा मंगलबार उनले पोस्ट गरे, 'यो विशाल, अपमानजनक, र सांसदको स्वार्थले भरिएको संसदीय खर्च विधेयक एक घृणित, घिनलाग्दो कुरा हो। यसको पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नुपर्छ: तपाईंलाई थाहा छ तपाईंले गलत गर्नुभयो। तपाईंलाई यो थाहा छ,' उनले एक्समा लेखेका थिए।
विधेयकको विरोध गरेपछि ट्रम्पले अमेरिकी सरकारको अर्बौं डलर बचाउन मस्कलाई दिएको अनुदान र उनको कम्पनीसँग सरकारले गरेको सम्झौता रद्द गर्ने बताएका थिए।
त्यसपछि बिहीबारदेखि ट्रम्प र मस्कबीच सामाजिक सञ्जालमा वाद-प्रतिवाद भएको थियो।
ट्रम्पले अनुदान कटौती गर्ने भनेपछि मस्कले ट्रम्पलाई महाभियोग लगाउनुपर्ने बताएका थिए। उनले ट्रम्पलाई आफैले राष्ट्रपति बनाएकोसमेत दाबी गरेका थिए।
आफ्नो आलोचना गरेपछि ट्रम्पले मस्कलाई 'बिचारा' भन्दै उनीप्रति सहानुभूति रहेको बताएका थिए। 'मस्क पागल भइसके, उनलाई के भएको थाहा छैन तर चाँडै ठीक होउन्,' ट्रम्पले भनेका थिए।
पछि ट्रम्पले मस्कले लागूपदार्थ प्रयोगबारे ह्वाइट हाउसका अधिकारीहरूसँग चासो राखेको भनेर सार्वजनिक भएको थियो।
मस्कले ह्वाइट हाउसको डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुखको जिम्मेवारी छाडेको एक सातामै ट्रम्पसँगको सम्बन्ध चिसिएपछि ह्वाइट हाउसका अधिकारीहरूले दुईजनाबीच संवादको तयारी गरेका थिए। पछि ट्रम्प आफैले संवाद गर्ने तयारी नभएको बताएका थिए।
ह्वाइट हाउसका अधिकारीहरुले ट्रम्प र मस्कबीचको सम्बन्ध फेरि पुरानै अवस्थामा फर्किन मुस्किल रहेको बताएका छन्।
उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति ट्रम्पसँग विवाद गरेर मस्कले ठूलो भूल गरेको बताएका छन्।
'मस्क अत्यन्तै गतिशील मान्छे हुन्। तर विश्वकै शक्तिशाली व्यक्ति (ट्रम्प)सँग झगडा गर्नु विश्वकै धनी व्यक्तिका लागि घातक हुनसक्छ। यो उनको ठूलो भूल हुन सक्छ,' उनले भने।
भान्सले ट्रम्प अत्यन्त संयमित व्यक्ति भएको पनि बताएका छन्। उनले ह्वाइट हाउसमा रहँदा इलनले तारिफयोग्य काम गरेको बताए। तर आफू राष्ट्रपतिप्रति बफादार रहनुपर्ने भान्सले बताएका छन्।
ट्रम्पविरूद्ध अभिव्यक्ति दिएपछि मस्कको टेस्ला कम्पनीको सेयर मूल्य एकैदिन १४ प्रतिशतले घटेको थियो। बिहीबार मस्कले एकैदिन टेस्लाबाट १५० अर्ब डलर गुमाउनुपरेको थियो।
ट्रम्म विरूद्ध 'आगो ओकलिरहे' मस्कले अझै बढी नोक्सानी ब्यहोर्नुपर्ने हुनसक्ने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।
किनभने ट्रम्प त्यो हैसियतमा छन् जहाँ बसेर उनले स्पेसएक्स र टेस्लालाई बलियो र कमजोर पार्नसक्ने क्षमता राख्छन् भनेर अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन्।