सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन्।
सभामुख घिमिरेले सिंहदरबारमा आइतबार बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।
छलफलमा सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटकपटक संसद बैठक स्थगित गरेपनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए।
संसद अवरोधका कारण बजेटमाथिको छलफल सुरू हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूलाई आग्रह गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
प्रमुख विपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले आजै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने बैठकमा बताएका थिए।
बैठकमा सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याएको सभामुखको सचिवालयले जनाएको छ।