नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच छलफल सुरू भएको छ।
संघीय संसद भवनको शंकर हलमा कांग्रेस र माओवादीबीच छलफल चलिरहेको एक नेताले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि संसद भवनमै विपक्षी दलहरूसँग छलफल गरेका थिए।
त्यहाँ छलफल गरेर शंकर हलमा उनी कांग्रेससँग छलफलमा जुटेका हुन्।
विपक्षी दलहरुको बैठकमा प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए।
पढ्नुस्ः भिजिट भिसा प्रकरण छानबिन गर्न आयोग बनाउने प्रचण्डको प्रस्ताव मानेनन् देउवाले
उनले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि कांग्रेस तयार नभएको ब्रिफिङ बैठकमा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन्।
कांग्रेस सहमतिमा नआएको खण्डमा विपक्षी दलहरूको संसदमा आफ्नो स्ट्याण्ड कायम रहने निचोड बैठकले गरेको प्रमुख सचेतक परियारले बताए।
'छानबिन समिति बनाउने भन्ने विषयमा सत्तापक्ष लचिलो नभएकाले हाम्रो अडान कायमै रहने भयो,' परियारले सेतोपाटीसँग भने।
यसअघि प्रमुख सचेतक र सभामुखबीचको बैठकमा पनि संसद चलाउने विषयमा सहमतिको प्रयास बिफल भएको थियो।
सत्तापक्ष र प्रतिपक्षले आ-आफ्नो अडान नछाडेपछि प्रतिपक्षीलाई पेलेरै जाने तयारी सत्तापक्षले गरेको छ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विपक्षीले सहयोग गरे पनि नगरे पनि संसद बैठक आजदेखि स्थगित नहुने बताएका थिए।