राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठक यही शुक्रबार दिउँसो १ बजे बस्ने तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रूपन्देहीको उपनिर्वाचन तयारी, उम्मेदवारका आकांक्षीहरूबारे छलफल गर्नेछ। रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाले बुधबारसम्म आवेदन दिइसक्न उम्मेदवारका आकांक्षीहरूलाई भनेको छ।
त्यस्तै पार्टी खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गर्न लागेको फ्युचर लिडर्स समिटबारे पनि छलफल गर्ने झाले बताए।
केन्द्रीय समिति बैठकले केही विभागहरूलाई पूर्णता दिनेछ। रिक्त विभाग प्रमुखका लागि सचिवालय बैठकमा केही नाम प्रस्ताव गरिएको छ। केन्द्रीय समितिले ती नाममाथि छलफल गरेर अन्तिम रूप दिने उनले बताए।
यसका अतिरिक्त पार्टी विधानमा केही संशोधन गर्न लागेको पनि उनले बताए।