कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन्।
बिहीबार सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने तर प्रतियोगिता नहुने हुँदा नकारात्मक सन्देश गएको भन्दै अब त्यस्तो गल्ती नदोहोर्याउन आग्रह गरेका हुन्।
‘अब मिति तोक्दा नसर्ने गरी तोक्न हुन मेरो आग्रह छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘दशौं राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आउनु भएका मन्त्रीलाई यही कुरा भनेको हो।’
कर्णालीमा खेलकुद गर्ने विषयमा प्रदेशका तर्फबाट प्रतिबद्ध रहेको भन्दै उनले त्यही अनुसार तयारी पनि गरिरहेको स्पष्ट पारेका थिए।
‘आयोजक तपाईंहरू हो, अब पनि मिति तोक्दा खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नु होला भनेको छु,’ मुख्यमन्त्री कँडेलले भने, ‘मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसहित स्पष्ट तालिका बनाउन पनि आग्रह गरेको छु।’
मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका कमजोरी दोहोरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने भन्दै खेलकुद मन्त्रीको ध्यानाकर्षण गरेका थिए।
मुख्यमन्त्री कँडेलले खेलकुद मन्त्रीसँग प्रतियोगिताका लागि भनेर यसअघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि पनि जनाएका थिए।
‘यहाँ नभएका जनशक्ति मात्रै बाहिर ल्याउनुहोला तर प्रतियोगिताकै लागि जम्बो उपसमिति बन्ने र बनाउने काम नगर्नु होला,’ मुख्यमन्त्रीले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केही दिन पहिले सुर्खेत आएका बखत सरोकारवालालाई निर्देशन दिएको भन्दै त्यसमा पनि ध्यान दिन मुख्यमन्त्रले खेलकुद मन्त्रीलाई सुझाएका थिए।