प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन्।
ललितपुरमा शुक्रबार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताए।
नेपालमा हुने कारोबार नेपालको कानूनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ।
मेटा लगायतका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन। लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन्। बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहेका छन्।
नेपाल सरकार नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनै पनि सामाजिक सञ्जालहरूले तिर्नैपर्ने बताए।
नेपालमा प्रयोग हुने कम्पनीहरूले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताए।
यदि नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताए।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा जे कुरा चल्छ, चलाइन्छ, जुन कारोबार नेपालमा हुन्छ, नेपालको कानूनअन्तर्गत हुनुपर्दछ। नेपाल सरकारले थाहा पाएको हुनुपर्दछ। नेपाल सरकार, नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायी भएको हुनुपर्दछ। यहाँबाट जुन चल्छ, त्यसको ट्याक्स यहाँ तिर्नुपर्दछ। लाभको ट्याक्स तिर्नुपर्दछ। त्योभन्दा बाहिर बस्छु भन्ने छुट कसैलाई छैन। नेपालमा प्रयोग हुने त्यस्ता चिजहरूले नेपालमा अफिस खोलेको हुनुपर्दछ। नेपालको कानूनमा रजिस्ट्रड भएको हुनुपर्दछ। नेपालको कानूनअन्तर्गतका दायित्वहरू र उत्तरदायित्वहरू पूरा गरेको हुनुपर्दछ।’
प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पुर्याउन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिए। —न्युज एजेन्सी नेपाल