प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेतले राज्यबाट सेवा सुविधा लिनेहरूले आफ्नो सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याउनुपर्ने बताएकी छन्।
विद्यालय शिक्षा विधेयकबारे बिहीबार प्रतिनिधि सभाको शिक्षा समितिमा भएको छलफलमा सांसद बस्नेतले सार्वजनिक विद्यालयको सुधारका लागि त्यस्तो नीति अबलम्बन गर्नुपर्ने बताएकी हुन्।
' सार्वजनिक विद्यालयको सुधारका लागि राज्यबाट सेवा सुविधा र तलव लिनेहरुको सन्तानलाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था लेख्नुपर्छ,' उनले भनिन्।
उनले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दा पनि शिक्षाको स्थिति नाजुक रहेको बताइन्।
'शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश आज जसरी अघि बढ्नुपर्ने हो त्योअनुसार बढ्न सकेन । शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्वपूर्ण भुमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ,' उनले भनिन्। -न्युज एजेन्सी नेपाल