संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएकी छन्।
सभामुख देवराज घिमिरेलाई मंगलबार दिउँसो भेट गरी न्यौपानेले राजीनामा दिएकी हुन्।
‘संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै/तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु,’ न्यौपानेले सभामुखलाई बुझाएको राजीनामा पत्रमा उल्लेख गरेकी छन्।
न्यौपानेलाई नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।
उक्त निर्णयपछि न्यौपानेले संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएकी हुन्। उनले राज्य व्यवस्था समिति सभापति पदका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड त्रुटिमा नैतिक जिम्मेवार ठहरिएपछि साउन २७ गते पदबाट राजीनामा दिएका थिए।
न्यौपाने संसदीय सुनुवाइ समिति सभापति पदमा एक वर्ष रहिन्। उनी २०८१ साउन ३१ गते निर्विरोध रूपमा समिति सभापति चयन भएकी थिइन्।