अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्ने कार्यकारी आदेश ल्याएका छन्।
ट्रम्पले सोमबार अमेरिकी झण्डा जलाउने प्रदर्शनकारीहरूलाई संविधानले अनुमति दिएको अधिकतम हदसम्म मुद्दा चलाउन मिल्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
अमेरिकी झण्डाको गरिमा र पवित्रता पुनर्स्थापित गर्न सरकारले काम गर्ने भनेर सो कार्यकारी आदेशले घोषणा गरेको छ।
ट्रम्पले गत वर्षको राष्ट्रपतिय निर्वाचनको प्रचारको बेला देखि नै अमेरिकी झण्डा जलाउनेलाई एक वर्ष जेल हाल्नु पर्ने भन्दै आएका छन्। यो कार्यकारी आदेशमा हस्ताक्षर गर्दा पनि उनले झण्डा जलाउनेलाई एक वर्ष जेल हुन्छ भनेका छन्।
‘कुनै पनि किसिमको छुट वा रिहाइ हुँदैन,’ उनले घोषणा गरे। तर उनले हस्ताक्षर गरेको कार्यकारी आदेशमा भने त्यस्तो व्यवस्था छैन।
अमेरिकी संविधानको पहिलो संशोधनले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको व्यापक अधिकार दिएको छ।
सन् १९८९ मा सर्वोच्च अदालतले फैसला गर्दै राष्ट्रिय झण्डा जलाउनु राजनीतिक अभिव्यक्ति भएको भन्दै पहिलो संसोधनले सो अधिकारको प्रत्याभूति गरेको प्रष्ट्याएको थियो।
ट्रम्पले हस्ताक्षर गरेको आदेशले नै सो फैसला स्वीकारेको भनेर द न्यु योर्क टाइम्सले लेखेको छ। झण्डा जलाउनेले अरू कुनै कानूनको पनि उल्लंघन गरेको छ भने उसमाथि प्राथमिकताका साथ कारवाही चलाउन यो कार्यकारी आदेशले निर्देशन दिएको छ।
यो कार्यकारी आदेश नआउँदै पनि झण्डा जलाउनेले दंगा भड्काए वा अरू कुनै कानूनको उल्लंघन गरे कारवाही गर्न सर्वोच्चको फैसलाले रोकेको थिएन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)