एक दशक अगाडि त्रि-चन्द्र कलेजको एउटा कक्षामा एक विद्यार्थीले पढाइ भइरहेको पाठको व्यवहारिक प्रयोगबारे प्राध्यापकलाई सोधे। नाम चलेका ती प्राध्यापकले खिसी गर्दै जवाफ फर्काए- ‘तिमी पढ्छौ पास हुनलाई, म पढाउँछु पैसा कमाउनलाई।’ आजको शिक्षा प्रणालीको यथार्थ यही हो। शैक्षिक प्रमाणपत्र र जीवनमा चाहिने सीपहरूको खासै सम्बन्ध हुँदैन।
कक्षा १ देखि १० सम्मको पाठ्यक्रम हेरौँ। अनि अधिकांश विद्यालयहरूमा ती पाठ्यक्रमलाई शिक्षकहरूले कक्षाकोठामा प्रयोग गरेको हेरौँ। आजका कक्षाकोठाहरू गहिरिएर हेर्ने हो भने भोलिको समाजको चित्र झलझली देखिन्छ। यो चित्र दयनीय र डरलाग्दो छ। नेपाल सरकारले विद्यालय शिक्षाका उद्देश्यहरू परिभाषित गरेको छ। यस पाठ्यक्रमले मूलतः सक्षम नागरिक बन्ने उद्देश्य राख्दछ। तर, पाठ्यक्रम, पाठ्यवस्तु, विद्यालयको संरचना र अधिकांश कक्षाकोठाको अध्यापन हेर्दा ती उद्देश्यहरू प्राप्त हुने कुनै पनि लक्षण देखिँदैन।
आज शिक्षाको आधारभूत उद्देश्यमा कुरा नै भएको छैन। सबैको आशा र अपेक्षा विद्यालयमा छ। सरकार आज्ञाकारी नागरिक र उल्लेखनीय शैक्षिक उपलब्धि खोज्छ। अभिभावकहरू आफ्ना सन्तानको सम्पन्नता र सुख खोज्छन्। विद्यालयहरू आफ्नो नतिजा बढाउन चाहन्छन्। तर, अधिकांश विद्यार्थीहरूलाई हेर्ने हो भने सरकार, अभिभावक र विद्यालय कसैको पनि अपेक्षा पूरा भएको छैन। यी सबैको मारमा भने विद्यार्थीहरू परेका छन्।
सार्वजनिक शिक्षा सुधारको लागि विभिन्न तहमा बहसहरू हुने गरेका छन्। तर, अहिले सुधारका प्रक्रियाहरू हेर्दा सार्वजनिक विद्यालयलाई निजी जस्तो बनाउने दौड मात्र देखिन्छ। निजीको सामर्थ्य भनेको विद्यालयमा जनशक्ति व्यवस्थापन मात्र हो। शिक्षालाई जीवनसँग जोड्ने काममा प्रायः निजी विद्यालयहरू पनि सचेत छैनन्। विद्यालयमा दरबन्दी बढाएर वा शिक्षकको तालिम बढाएर मात्र केही हुनेवाला छैन। यसले परीक्षामा उत्कृष्ट नतिजा त आउला। तर, आजको युगको लागि सक्षम जनशक्ति उत्पादन गर्ने हो भने केही पक्षहरूमा तत्कालै ध्यान दिनु आवश्यक छ।
पहिलो, शिक्षा जीवनसँग जोडिनै पर्छ।
अहिलेको शैक्षिक प्रणालीप्रति कटाक्ष गर्ने एउटा भनाइ छ, “ जान्ने र नजान्ने विद्यार्थीमा यत्ति फरक छ कि नजान्ने विद्यार्थीले परीक्षा अगाडि नै बिर्सन्छ र जान्नेले परीक्षापछि बिर्सिन्छ।” विद्यालयमा सिकेको कुरा कहाँ काम लाग्यो भनेर खोज्दै जाँदा एकदम कम देख्न सकिन्छ। केही गणीतीय र भाषिक सीपबाहेक पेशागत जीवन र आफ्नो दैनिकीमा खासै धेरै प्रयोग भएको देखिँदैन। आजको शिक्षामा जानकारी र सूचनाको भारी छ। शिशु कक्षादेखि विश्वविद्यालय तहसम्म सूत्र, सिद्धान्त र व्याकरणको रटान छ। अध्ययनको समयमा विद्यार्थीहरूले जीवन निर्वाह गर्न आवश्यक सीपहरू पाउँदैनन्। श्रम गर्न सिक्दैनन्। धेरै जसो स्नातकोत्तर सकेका युवायुवतीहरूलाई समेत पौष्टिक तत्वको सन्तुलन मिलाएर खाना बनाउन आउँदैन। पढ्न र लेख्न बाहेक खासै केही कुरा गर्न आउँदैन। त्यसैले सीपको माध्यमबाट श्रम र सीपको विकास गर्ने तरिकाहरू पहिल्याउनु आवश्यक छ।
दोस्रो, शिक्षामा संस्कार र नैतिकता जोडिनु पर्दछ।
आजकाल ‘शिक्षित’ भनिने अधिकांश मानिसहरूमा विनम्रता छैन। ‘शिक्षित’ भनिनेहरू नै चोरी, डकैती, भ्रष्टाचारमा लागेका बग्रेल्ती उदाहरणहरू छन्। शक्ति, सत्ता र सम्पत्तिको लागि पढेलेखेका मानिसहरूले आफ्नो इमान बेचेका सत्य घटनाहरू धेरै छन्। समाजले उच्चतम महत्व दिएका डाक्टर र इन्जिनियरहरू पैसामा बिकेका अनगिन्ती उदाहरणहरू छन्। यसको निवारण एउटा नीतिगत तहमा होला, अर्को कक्षाकोठाबाट सुरू हुनु पर्छ। सकारात्मक सोच र नैतिकताको लागि बाल्यकालदेखि नै प्रेरित गर्ने हो भने मात्र दिगो रूपमा सभ्य र सुसंस्कृत समाजको निर्माण सम्भव छ। यस्तो समाजमा मात्र लोकतन्त्र फस्टाउँछ।
तेस्रो, शिक्षाले वर्तमानमा जिउन सिकाउनु पर्छ।
शिक्षाले निर्दिष्ट गरेको लक्ष्य भविष्यमा छ। विद्यालयहरू विद्यार्थीलाई भविष्यको लागि तयार गर्न चाहन्छन्। पाठ्यवस्तुमा इतिहासको कुरा छ। इतिहास र भविष्यको उल्झनमा विद्यार्थीहरूको वर्तमान बिग्रन्छ। हाम्रो शिक्षा प्रणालीमा अतितका कुरालाई संश्लेषण र विश्लेषण गर्ने अवसरहरू छन् तर वर्तमानमा रमाएर बाँच्ने ठाउँ छैन। अधिकांश ठाउँमा हेर्ने हो भने शिक्षाले चिन्तनको सट्टा चिन्ता थपेको छ। तनाव दिएको छ। बाल्यकाल जीवनको स्वर्णिम समय हो। यही समयमा खुसी खोसिएपछि उमेर बढ्दै जाँदा मानसिक रूपले अस्वस्थ हुने निश्चित छ। देश र समुदायको लागि यो घातक हुनेछ। शान्तिपूर्ण र खुसी समाज निर्माणको लागि वर्तमानको लागि तयार गर्ने शिक्षा पद्दति अपनाउनु अत्यन्तै महत्वपूर्ण छ।
चौथो, बालबालिकाहरूको सरलता र सत्य बोल्ने बानीको जगेर्ना गरिनु आवश्यक छ।
सानो कक्षामा बालबालिकाहरूको लेखाइ र बोलाइ एकदमै सरल हुन्छ। उनीहरू आफूले भोगेको जीवनलाई सरल शब्दहरूमा अभिव्यक्त गर्छन्। उनीहरू स्पष्ट अर्थ दिने शब्दहरू बोल्छन्। तर, उनीहरूको त्यो सरलतामा रातो मसी लाग्छ र उनीहरूलाई ठूला र अमूर्त शब्दहरू प्रयोग गर्न सिकाइन्छ।
यसले उनीहरू सरलता र ‘अथेन्टीसिटी’ गुमाउँछन्। यसबाट उनीहरूको वास्तविक अनुभूति र मुखबाट निस्किएका शब्दबीच तादात्म्यता हुँदैन। यसले एकथोक बोल्ने र अर्कै कुरा अनुभूति वा अनुभव गर्ने ढोंगी पुस्ताको निर्माण हुन्छ।
पाचौं, जीवनका अपूर्णताहरू स्वीकार्न सक्ने क्षमता विकास गर्ने शिक्षाको आवश्यकता छ।
कुनै पनि व्यक्ति आफैंमा पूर्ण आदर्श हुँदैन। तर, पाठ्यपुस्तकमा समेटिएका जीवनीहरूले व्यक्तिको सकारात्मक पाटो मात्र राखिदिन्छन्। संघर्ष गरेको र सफलता प्राप्त गरेको कुराले मात्र विद्यार्थीहरूलाई त्यो व्यक्ति आफूभन्दा फरक लाग्न थाल्छ। किनकि, विद्यार्थी आफू नकारात्मक पनि सोच्छ, झगडा गर्दछ। अनि ‘म राम्रो’ छैन कै दलदलमा आत्मविश्वास गुमाउन पुग्दछ।
अन्त्यमा- अहिलेको समयमा विद्यार्थीहरूलाई माटो छुन प्रोत्साहन दिने शिक्षा चाहिएको छ। विद्यालयमा कवि, कथाकार, वैज्ञानिक, अभिनेता सबैबारे पढाइन्छ। तर, किसानबारे केही सिकाइँदैन। संसारलाई चलाउन एउटा महाकाव्य, रकेट वा फर्मुलाबाहेक अन्नको योगदान धेरै छ। तर अन्नको कुरा हुँदैन। अन्न उत्पादन गर्ने मान्छेको कुरा हुँदैन। त्यसैले कोही किसान बन्न चाहँदैन। हाम्रो समाज पढ्ने बित्तिकै माटो छुनु हुँदैन भन्ने सोचले ग्रस्त छ। पढ्ने लेख्ने काममा संघर्ष गरिरहेको विद्यार्थीलाई ‘हलो जोती खायो माम’ भन्दै गाली गरिन्छ। विद्यालय तहदेखि नै कृषिलाई हेर्ने दृष्टिकोण बदल्नु आवश्यक छ।