सम्माननीय उपकुलपति ज्यू,
त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय कीर्तिपुर
काठमाडौं, नेपाल।
नेपाल सरकारको राष्ट्रब्यापी लकडाउन अन्त्यको सुबिहानकालीन दिनमा त्रिविका हजार विद्यार्थीको मुखपत्र बोकेर प्रतिनिधि पात्र बनी लाखौं विद्यार्थीका अभिभावक, तपाईलाई साष्टाङ्गवत नमस्कार टक्राउदछु। स्वीकार गर्नुहोला।
सुरुमै जानकारी गराउदछु, म त्रिवि मातहतको संस्थान इ.अ.सं स्नातक तहको एउटा नियमित विद्यार्थी जो आज मेरोजस्तै परिचयपत्र बोक्ने हजार विद्यार्थीको वर्तमान परिस्थितिलाई अध्ययन गरेर तर्क र तथ्यसहित कुनै भावनामा नबहकिइ तर्कसंगत ढंगले यो पत्र लेख्न बाध्य भइरहेको छु। आशा छ, यो पत्रको सम्बोधनमा व्यक्ति सबैलाई नतोकिए पनि त्रिवि संस्था मानेर सम्बन्धित सरोकारवाला सबैको यसतर्फ दृष्टि अवश्य पुग्नेछ।
सुरु गरौं अलिकति हाम्रो पृष्ठभूमिबाट।
नेपाली समाजमा एउटा प्रचलित भनाइ छ 'आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको' भन्ने। उच्च शिक्षाको लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था त्रिवि, पुरानो र ठूलो, काल र स्तिथीले मात्रै नभई लाखौं विद्यार्थीको भविष्य जोडिएकाले अभिभावकत्वको भूमिकामा पनि शीर्ष स्थानमा कायम रहेको सबैमा जगजाहेर नै छ।
गत चैत्र ७ गतेदेखि त्रिविले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको कारण अर्को सूचना नआउन्जेल भन्दै आफ्ना मातहतका सबै संस्थान/संकायलाई सबै तहका परीक्षा स्थगन तथा पठनपाठन बन्द गराउने निर्णय गर्यो। तदनुरुप सबै संस्थान/संकायले निर्देशनलाई कार्यान्वयनमा लिए। त्यसपछि चैत्र ११ बाट नेपाल सरकारले राष्ट्रव्यापी 'लकडाउन' को घोषणा गर्यो।
यसै क्रममा गत चैत्र २६ गते त्रिवि सूचना पाटीमा उपकुलपतिको कार्यालय मार्फत शैक्षिक क्षति सकेसम्म न्यूनीकरण गर्नलाई 'स्थगन गरिएको पठनपाठन र परीक्षा सम्बन्धमा' विश्वविद्यालयले अवलम्बन गर्न गइरहेको तथ्य जानकारी गराउदै सबैमा हार्दिक अपिलको सूचना जारी भयो। जसको अघिल्ला ४ ओटा (क देखि घ) बुँदाहरु बारे सर्वप्रथम स्मरण गरौं। किनकी जसलाई अवलम्बन गर्न गइरहेको तथ्य भनी सार्वजनिक गरिएको थियो।
आज यस क्रमको ४ महिना अवधि बित्नै लाग्यो। यसबीचमा त्रिविले अनलाइन कक्षा सम्बन्धी र विद्युतीय संचार व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७७ जारी गर्यो। जुन ध्येयले जसका लागि ल्याइएको थियो त्यसका निम्ति आवश्यक गृहकार्य नपुग्दा कक्षा संचालनका सम्बन्ध्मा त्रिवि लगभग निर्देशिकाको पानामा नै सीमित रहेको सर्वविदितै छ।
अब भनिदिनुस् कि विद्यार्थीलाई, ४ महिनामा ४ ओटा उपाय अवलम्बनको प्रभावकारी प्रयास नै नथाल्ने त्रिवि संस्था आफैको परीक्षा तथा मूल्यांकन कसले गरिदिने? लाखौं विद्यार्थी हजारौं प्राध्यापकको प्राज्ञिक थलोमा सञ्चित, उन्नत र ज्ञानको प्रसार मूल आदर्श बोकेको बुढोपाको त्रिविबाट अन्य विश्वविद्यालयले के सिक्ने र हामी विद्यार्थीले गर्व गर्ने आधार के?
हुन त गुमिसकेको समयको हिसाब खोज्ने मूर्खता हामी विद्यार्थी नगरौला तर यतिमात्र बुद्दिमता त्रिविले बोक्नुपर्यो कि विद्यार्थीको हरेक परीक्षा सँगसँगै आफ्नो परीक्षा तथा मूल्यांकन पनि जोडिएको हुन्छ। जसको लाब्धाङ्क पत्र त्रिविले कहिल्यै प्रकाशित त नगर्ला तर विद्यार्थीले तपाईंको उद्घोष 'सेन्टर अफ एकेडेमिक एक्सिलेन्स' लाई लिएर चारित्रीक प्रमाणपत्र तयार गरिरहेका हुन्छन्।
अब प्रस्थान गरौं यस पत्रको मुख्य विषयवस्तु तथा तपाईकै प्रतिवद्धताका शब्दबाट।
नेपाल सरकारले गत साउन ६ गते मध्यरातदेखि लकडाउन अन्त्य गर्ने निर्णय लियो। सोही दिन तारन्तार हाम्रो त्रिविले नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक अन्य सबै कार्यहरु स्वास्थ्य सुरक्षा निर्देशिका पालना गर्दै साउन ७ गतेबाट क्याम्पस सूचारु गरिने भनी अत्यन्त जरुरी सूचना जारी गर्यो। सबैभन्दा पहिले सूचना जारी गर्नमा हाम्रो त्रिवि भनौ एककिसिमले 'बोर्ड फस्ट' नै देखियो।
चार महिनासम्म पठनपाठनमा चुपचाप त्रिवि लकडाउन नखुल्दै सूचना जारी गर्न सफल भयो। यस सफलतामा विद्यार्थीको विष्मयादीको बोध साधारण त पक्कै नभएको अनुमान लगाउन सहजै सकिन्छ होला। सरकरले लकडाउन खुलाउनुको विकल्प थिएन खुलायो। तर कोरोना सङ्क्रमणको जोखिम भने सिद्धिएको पक्कै होइन। लकडाउन अन्त्य भए नि जनजीविका सामान्य र सुरक्षित भइसकेको अवस्था छैन। यो कुरा हामीमाझ यथेष्ट नै छ।
तर लकडाउन खुलेको भोलिपल्टै त्रिविबाट स्थगित परीक्षाका सम्बन्धमा कुनै औपचारिक सूचना सार्वजनिक नगरिए पनि मातहतका संस्थान/संकायले भने परीक्षा मितिको सूचना सार्वजनिक गर्ने होडबाजी देखाए। त्यस्तै उदाहरणमा पर्यो हाम्रो इ.अ.सं पनि। जबकी इ.अ.सं जस्तो मुलुकको प्राविधिक मेरुदण्ड मानिने संस्था पनि ४ महिनासम्म पठनपाठनको लागि केही प्रयास नै गर्न नसकेको बिडम्बना थियो/छ।
यस्तो बुझिन्थ्यो हाम्रो संस्थानलाई यतिन्जेल त्रिविकै कारण पठनपाठनका सम्बन्धमा अनिर्णयको बन्दी बनाइएको थियो। अब अहिलेको कदम हेरौँ। त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले जारी गरेको अपिल जहाँ परिस्थिति सहज भइसकेको अवस्थामा बल्ल परीक्षा लिनु भनिएको थियो। तर इ.अ.सं जस्तो संवेदनशील संस्था भने बिना कुनै सर्वेक्षण वा प्रक्षेपण हतारोमा आफ्नो कर्मकाण्डमा (स्थगित भएको परीक्षा संचालन गर्न मात्रै ) दत्तचित्त भएको देखाउन अग्रणी रह्यो।
इ.अ.सं डिनको कार्यालयलाई निर्णयको सर्वाधिकार रहे तापनि त्रिविकै मातहतको संस्थान रहेकाले उपकुलपतिको कार्यालयले परिस्थिति सहज भइसकेको अवस्थामा परीक्षा लिनु भन्दाभन्दै त्यसलाई व्यवस्था सहित विद्यार्थीको परिस्थिति र पहुँचलाई नजरअन्दाज गरी कुनै तथ्य र तथ्यांक बिना अव्यवहारिक निर्णय लिन इ.अ.सं पुग्नु आम विद्यार्थी माथिको खेलवाड प्रष्ट देखिन्छ।
नेपाल सरकारको मोडालिटी अनुसार विद्यार्थीको परिस्थिति र पहुँचलाई सामान्य अवलोकन पनि नगरी इ.अ.सं ले स्नातक तहको भाद्र १५ बाट परीक्षा गर्ने भनी सूचना जारी गर्यो। जुन निर्णयले गर्दा आज हजारौं विद्यार्थी अँगेनामा आगो झोस्दा हाँडी भित्रका मकै भए सरह भएका छन्। किनभने न तयारीको लागि बाहिर पढाइ थलो फर्कने वातावरण छ न शान्त भएर पढ्नलाई साथमा पाठ्य सामग्री छ। यसरी जिम्मेवार संस्थानले नै हतारो देखाउनु सैद्धान्तिक र व्यवहारिक कोण कुनैबाट पनि परिपक्व निर्णय देखिदैन।
कसरी देखिदैन भन्ने कुराको तथ्य देखाउन भनी हामीले इ.अ.सं थापाथली क्याम्पसलाई केन्द्र मानी इ.अ.सं का अन्य विद्यार्थी पनि सामेल हुन पाउने किसिमले छोटो अवधिमा एउटा नमुना सर्वेक्षण साउन ३ र ४ गते जारी गरेका थियौँ भने साउन ६ गते नमूना सर्वेक्षण प्रतिवेदन भनी इ.अ.सं डिनको कार्यालय र थापाथली क्याम्पसमा प्रस्तुत गरेका थियौँ। पेश गरिएको प्रतिवेदनको पूर्णपाठ यस पत्रसँगै संयोजन गरि राखिएको छ।
उक्त प्रतिवेदनको परिणाम र निष्कर्ष यस्ता रहेका थिए जसबाट विद्यार्थीको परिस्थिति र पहुँच बुझेर निम्न किसिमका सुझाव पनि पेश गरिएको थियो।
१) परिणाम:
मुलतः गत चैत्रदेखि स्थगित परीक्षाका सम्बन्धमा अनलाइन विधि वा विद्यार्थी कै उपस्थिति विधिमा गराउने भनिएको निर्णयलाई लिएर इ.अ.सं. का विद्यार्थीको तत्कालीन अवस्था र स्रोतसाधनको पहुँचबारे केकस्तो छ भनी सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन गरिएको नमुना सर्वेक्षणको परिणाम यस प्रकारको पाइएको छ :
क) अधिकांश विद्यार्थी (सरदर ७१ %) उपत्यका बाहिर रहेका,
ख) ६१ प्रतिशत विद्यार्थीसित स्थगित परीक्षाको लागि आवश्यक पाठ्यसामग्री नरहेको,
ग) बाहिर रहेकालाई आवतजावतको सुरक्षित प्रबन्ध वा (व्यवहारमा) जनजीविका सामान्य नभइकन पढाइ थलो फर्कने वातावरण तत्काल नरहेको,
घ) पढाइथलो( उपत्यका) फर्किएपछि र उपत्यकामै हुनेहरु सबै गरेर जम्मा ८८ % विद्यार्थीले सार्वजनिक यातायात प्रयोग गर्ने गरेका,
ङ) जम्मा २२ % विद्यार्थीसित इन्टरनेटको सुविधा नभएको र सुविधा भएकोमा ४७ % मोबाइल डाटामा आश्रीत रहेका,
च) पाठ्यसामग्रीको उपलब्धता र इन्टरनेट पहुँचमा समस्याका कारण ७५ % विद्यार्थीले अनलाइन परीक्षा विधिमा सामेल हुन नसक्ने जानकारी गराएका,
छ) कोरोना सङ्क्रमण नियन्त्रणमा आइ जनजीविका सुरक्षित र सहज बन्न थालेको अवस्थापछि परम्परागत परीक्षा विधिमा जान ३० दिन परीक्षापूर्व र परीक्षा क्रममा पहिलाजस्तै ३ दिन तयारीको समय ८५ % विद्यार्थीलाई आवश्यक रहेको पाइएको छ।
२) निष्कर्ष:
प्राप्त विवरणलाई व्यवहारतः विश्लेषण गर्दा प्रत्येक विद्यार्थीमाझ इन्टरनेट सुविधाको सुनिश्चिततापछि स्थगित परीक्षाको लागि आवश्यक पाठ्यसामग्री उपलब्ध गराएर केही अवधि पछि मात्रै अनलाइन विधि परीक्षा सम्भव देखिन्छ।अर्को, विद्यार्थीकै उपस्थितिमा गरिने परीक्षाका सम्बन्धमा तत्काल हरखण्डमा सङ्क्रमणबाट सुरक्षाको मापदण्ड पूरा गर्ने सामर्थ्य हामीमाझ नभएकाले यस्तो विधि अपनाउन सर्वप्रथम स्थिति र आवतजावत सामान्य अवस्थामा नआउन्जेल पर्ख र हेर नीति अख्तियार गरिनुपर्ने आवश्यकता देखिन्छ।
यदि परीक्षाको विकल्प परीक्षा नै हो भन्ने हो भने माथिका सर्त अनिवार्य पालना गरेमा मात्र सर्वमान्य स्थितिको सिर्जना हुनेछ। तर तत्काल यी दुवै विधि समयानुकूल वा गरिहाल्न मिल्ने विधि नभएको बुझन सकिन्छ। त्यसकारण समयको झन् झन् वर्वादीभन्दा अधिकांश इन्टरनेट सुविधामा रहेको वा नहुनेलाई दुरसंचारसितको सहकार्यमा धेरैभन्दा धेरैलाई जोड्न सकिने यथार्थ रहेकाले इ.अ.सं ले तत्काल अनलाइन कक्षा संचालन गर्न जोड दिनुपर्ने देखिन्छ।
र कसैगरी प्रत्यक्ष अनलाइन जोडिन नसक्ने वातावरण हुनेको हकमा वा सबैमा रेकर्डेड भिडियो, पिडिएफ वा पिपिटिएक्स अथवा अन्य केही सामग्री कुनै समयमा पनि पहुँच पुग्न सक्ने व्यवस्था गर्न सकेमा स्थिति सहजीकरण गर्दै जान सकिन्छ।
३) सुझाव:
क) प्रत्येक विद्यार्थीको एकिन अवस्था, पहुँच र जनजीविकालाई अवलोकन नगरी त्रिविले तत्काल अनलाइन वा परम्परागत जुनसुकै विधि अपनाउने भनिएको निर्णय प्रति सरदर सबै विद्यार्थीको तर्कसंगत गम्भीर आपत्ति रहेको हुँदा उक्त निर्णयलाई सम्बन्धित सबैको सहकार्यमा अनिवार्य पुनर्विचार गरि सर्वमान्य विधि अपनाइनु पर्ने।
ख) समकालीन परिस्थिति र आगामी दिनमा पर्न सक्ने कार्यभारको चाँपलाई सङ्केत गर्दै धेरै विद्यार्थीले परम्परागत विधिभन्दा वैकल्पिकमा आन्तरिक मूल्यांकन (विषयगत शिक्षकले दिने अंक, अगाडिका खण्डहरुको नतिजाको आधार, हाजिरी, भैसकेका प्रयोगात्मक परीक्षाको आधार वा उपयुक्त थप गृहकार्य...आदि) विधिलाई अनिवार्य वा ऐच्छिक बनाई स्थगित परीक्षाको समाधान गर्न सकिने औल्याउँदै गर्दा त्रिवि/इ.अ.सं भने यसबारे मौन देखिन्छ।
त्यसैले भोलि यहीँ प्रणालीमा आफैलाई गम्भीर चुनौती आउन सक्ने भएको हुँदा बेलैमा यसबारे स्पष्टीकरण दिएर विद्यार्थीलाई आस्वस्त पारिदिए स्वागतयोग्य कदम हुनेछ।
ग) यदि आन्तरिक मूल्यांकन विधिमा जान त्रिवि/इ.अ.सं लाई प्रणालीगत आपत्ति नै हो भने र अनलाइन विधि वा विद्यार्थीकै उपस्थितिमा कहिलेसम्म जान सकिने एकिन नभएको अवस्था छ भने जम्मा ७ खण्डको परीक्षा नतिजा मूल्यांकन हुने गरि र लाइसेन्स विधिलाई प्रभावकारी बनाउन सकिने गरि कार्ययोजना ल्याउन सकेमा एक खण्डको परीक्षा कोरोना महामारीका कारण प्रक्रियागत ढंगले रद्ध गर्न सकिने विचार पनि आएको हुँदा इ.अ.सं ले यसबारे अध्ययन गर्न अनुरोध छ।
घ) अझ मुख्यतः हामी परीक्षामा मात्रै केन्द्रित हुँदा दोस्रो खण्डको पठनपाठनमा महिनौ ढिलाइ भएको अवगत गराउदै सक्दो सबैको सहभागीता सुनिश्चित गराएर अनलाइन कक्षा तत्काल सुचारु गरिनुपर्ने। र सबैलाई समावेश गर्न कुनै हालतमा नसकिएको खण्डमा निज विद्यार्थीले अफलाइन कुनै समयमा पहुँच मिल्ने गरि आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गराइदिनु पर्ने। यसरी नै समावेशी ढंगले अवरुद्ध पठनपाठन तत्काल सुचारु गरिनु पर्ने।
ङ) यस अन्यौलको परिस्थितिमा आधिकारिक निर्णय नभईकन निजी अनुमानको भरमा सम्बन्धित अधिकारीले संचारमाध्यमलाई सूचना दिदै आएकाले विद्यार्थीको मानसिक वा मनोवैज्ञानिक अवस्थामा गम्भीर असर पुग्ने हुँदा यस तर्फ पनि त्रिविको ध्यानाकर्षण गराउन चाहन्छौँ।
त्यसैले अहिले इ.अ.सं ले परीक्षा संचालनको मिति भाद्र ७ र १५ बाटलाई ताकेता गर्दैगर्दा कि त उपकुलपतिको कार्यालयले भनेझैं परिस्थिति सहज हुनेबारे आश्वस्त पार्नु पर्यो। होइन भने अहिलेको परिस्थितिलाई हेर्दा अनिवार्य रुपमा तोकिएको परीक्षाको मिति हेरफेर गर्नुपर्ने आवश्यक देखिन्छ।
समग्रमा जुनसुकै संस्थान/संकाय भए पनि खास विद्यार्थीको आवाज यतिमात्र हो कि अहिलेको परिस्थितिमा स्थगित परीक्षाका सम्बन्धमा सकिन्छ वैकल्पिक मूल्यांकन विधि अपनाउ, सकिदैन परम्परागत विधिको लागि परिस्थिति अनुकूलता हेरेर सर्वमान्य निर्णय गराउ। परीक्षाको लागि परिस्थिति वा आवतजावत सहज भैसकेपछि बल्ल तयारीको आवश्यक अवधि दिएर मात्र 'रुटिन' प्रकाशित गर्नु नै हरेक दृष्टिकोणले उपयुक्त देखिन्छ भन्ने हो।
तसर्थ,
सम्माननीय उपकुलपति ज्यू,
लाखौँ विद्यार्थीका अभिभावक तपाईलाई, आजका हामी विद्यार्थी परिस्थितिको यथेष्ट जानकारी गराउदै सु-संस्कृत ढंगले विरोध हैन अनुरोध, दबाब हैन सुझाव यसरी प्रस्तुत गरेका छौँ। आशा छ, जिम्मेवार अभिभावकको दायित्वले पनि आफ्ना विद्यार्थीका समस्यालाई उचित सम्बोधन गराइदिनुहुन सम्बन्धित सरोकारवालाको यहाँमार्फत यथाशीघ्र ध्यानाकर्षण गराइदिनु हुनेछ। धन्यवाद!
उहीँ तपाईको आज्ञाकारी विद्यार्थी,
'म' पात्र
बोधार्थ:
१) त्रिवि,उपकुलपतिको कार्यालय
२) त्रिवि, रजिस्ट्रारको कार्यालय
३) त्रिवि, परीक्षा नियन्त्रण महाशाखा
४) इ.अ.सं, डिनको कार्यालय