मेरो बुबा किसान हुनुहुन्छ। उहाँले खेतीबारीमा खुबै मिहेनत गर्नुहुन्छ। उहाँले उब्जाएको अन्नबालीले हामीलाई वर्षभरी जीविका चलाउन पुगेर बजारमा बिक्री गरी अन्य कामकाजमा पनि लगाउँछौँ। मेरो कलेजको शुल्क त्यसबाट नै तिर्न सजिलो भएको छ।
तरकारी पनि विभिन्न फल्छ जुन हामी गाउँठाउँमा बिक्री गरेर टाढाको बजारमा पनि बिक्रीका लागि लैजान्छौँ। मेरी आमा भेटेनरी डाक्टर हुनुहुन्छ। उहाँ गाइ तथा भैंसी फार्ममा दिनभरी काम गर्नु हुन्छ।
मेरो दाइले फार्ममा गाइवस्तुको मल बिक्रीमा सहयोग गर्नुहुन्छ। उहाँले मात्र वर्षेनी लाखौँको आम्दानी गर्नुहुन्छ। उक्त पैसाले हामीले भर्खरै दुध तथा तरकारी बिक्रीका लागि साधन पनि किन्न सकेका छौँ।
यसरी यो उदाहरणीय काम गर्न सकिन्छ भनेर म आफ्नो नातेदार तथा साथीहरुसँगको सार्वजनिक भेटघाटमा गर्वपूरक गर्ने गरेको छु। यथार्थमा यो अवस्था मेरो छैन र होइन। सायद किसान भएर जीवन बिताउने धेरैहरुको छैन।
हुन त कृषिको क्षेत्रको विद्यार्थी पनि म होइन, कृषिको क्षेत्रमा लाग्नुहुने, अध्ययन तथा खोज गर्नुहुनेहरुले कृषि क्षेत्रको विकासले दिगो विकासमा एउटा प्रमुख आधार हो भनेर भनिरहनु भएको नै छ। म यहाँ खाली एउटा दूरदराज किसान परिवारमा जन्मिएर त्यहाँको यथार्थ बारे बिर्सेनेहरुलाई सभ्झाउन खोज्ने एउटा सानो प्रयास गर्न खोजेको मात्र हो।
एउटा किसानले आफ्नो कमाइबाट परिवारको जीविका साथै परिवारको शिक्षादिक्षा, स्वास्थ्य र अन्य भइपरि आउने खर्च गर्न सके मात्र सन्तोषजनक अवस्था मान्न सकिन्छ। यस्ले सँग-सँगै ठूलो संख्यामा युवाहरुलाई बेरोजगारी हुनबाट पनि बचाउन सक्थ्यो र सक्छ।
यो उचाइमा कृषकरुलाई लैजान हरेक नेतृत्व गर्ने र गर्ने सम्भावना भएका अग्रपंक्तिमा रहनेहरुले चिन्ता र चिन्तन गर्न आवश्यक छ। कृषिमा आत्मनिर्भर हुँदा ठूलो लगानी बाहिर जानबाट रोक्न सकिन्छ। कृषक लागि बिउ, मल, विषादीहरुको सहज उपलब्धता, बिमा तथा अनुदानको सहजता र सहुलियत ऋणको विश्वास तथा उपलब्धता, विभिन्न तालिमहरु, आधुनिक उपकरणको उपलब्धता आदि सहज गराउन आवश्यक छ।
त्यस्तै गरी एउटा कृषक स्वयंले पनि बिउ, मल आदि अत्यावश्यक सामग्रीहरुको जोहो गरी संचय गरी विपद टार्न सक्छ, गाउँ टोलमा समूह निर्माणको पहल, समूहमा बिउ बैँक, सहकारीमा सहभागी हुन सकिन्छ। कृषि बजारका लागि आन्तरिकरुपमा प्रशस्त बजार तथा निर्यातका अवसर प्रचुर रुपमा रहेको नै छ।
साना किसानहरुले बाढी पहिरो वा कूनै विपद आइनपर्दाको अवस्थामा एउटा किसानले तीन महिनादेखि बढीमा एक वर्षका लागि खाद्यान्न पुग्नेगरी उब्जाएका हुन्छन्। जुन उत्पादनले आफू र परिवारको जीविका धान्नुपर्ने हुन्छ।
त्यसपछिको घर परिवारको शिक्षादिक्षा, स्वास्थ्य, विभिन्न सामाजिक तथा सांस्कृतिक कृयाकलापमा सहभागिताको लागि अतिरिक्त आम्दानीको आवश्यक हुन्छ र किसानले आफ्नो आम्दानीबाट खर्च गर्न नसक्दा गाउँमा साहुबाट चर्को ब्याजमा ऋण लिन बाध्य हुन्छन्।
जुन तिर्न नसक्दा जीवन पर्यन्त पुस्ता-पुस्तामा ऋणको हस्तान्तरण हुन्छ। सरकारले वैकल्पिक बाटोहरु प्रशस्त खुला गरेको कारण जीवनस्तर केही हदसम्म उठे पनि दिगो जीविकोपार्जनको लागि अरुमा भर पर्नु पर्ने तथ्य सबैलाई ज्ञात नै छ।
तसर्थ कृषि, औद्योगिक,सूचना साथै प्राकृतिक बजारका लागि स्थानीय, क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउन तथा उत्पादनको प्रतिशत वृद्धि गर्न सक्नुपर्छ। जसमध्ये बलियो आधार कृषि सामग्री बजार नै हो। यस अन्तर्गत कृषि उत्पादन गर्न चाहिने कृषि सामग्रीहरु, प्राविधिक सेवा, सिँचाइ, कृषि ऋण तथा अन्य सेवा उपलब्ध गराउने सम्पूर्ण सेवाहरु कृषि सामग्री बजार अन्र्तगत पर्दछ।
महिलालाई दोहोरो कामको भार कम गरी उनीहरुको आम्दानी बढाउन विभिन्न समूह तथा विशेष आवश्यकतामा रहेका महिलाहरु योजनालाई सहयोग गर्नु अबको अपरिहार्य आवश्यकता हो। यसमा उच्चतम लागतले नै उच्चतम प्रतिफल दिने कुरा हामीले बिर्सन हुँदैन। जस्ले महिलासँग जोडिएका हिंसा कम गर्न र सम्मानजनक व्यहार स्थापित गर्न मद्दत गर्दछ।
हामीले देखेकै कुरा हो युवा तथा नागरिकहरु ठूलो संख्यामा निराशामा रहेको पाइन्न्छ। झनै यो कोभिडका कारण अरुमाथि आर्थिक कारणले भर पर्दा निम्न तथा मध्यम तहमा कहालीलाग्दो अवस्था सृजना भएको छ।
अझै पनि सम्हालिन किशोर-किशोरीको व्यहारिक शिक्षादेखि शिक्षालाई भविष्यको पूल बनाउनबाट नै कदम चाल्न सक्नु पर्छ। व्यवहारिक शिक्षाको लागि हामीसँग थुप्रै अवसरहरु हुँदा हुँदै पनि यसलाई अनिवार्य पाटो नगरिनु प्रमुख रुपमा चुक्नु हो।
साथै नागरिकहरु तर्जुमा गरिएका योजनाहरुबाट लाभन्वित हुन नसक्नु, यसको खोजी नगरिनु, प्रविधिको सहयोग प्रति उदासिन हुनु वा त्यसको तेज नहुनु, दैनिक, मासिक तथा वार्षिक लक्ष्यहरुको अनुगमन नहुनु, संख्यात्मक या गुणात्मक तत्परता र प्रयास नहुनु अथवा जनताको सहयोगको लागि कार्यवातावरण उदासिन हुनु हाम्रो मानवीय श्रोत खेर गएको कारण साथै युवाहरु नकारात्मक बाटोमा लाग्नु र पलायन हुने कारण हो।
र यस क्षेत्रको उर्बरका लागि, स्थानीय उन्नत बिउ जोहोका लागि, बढी उत्पादनका लागि भने युवाहरुको आवश्यक छ।
अन्त्यमा, समुन्नत आर्थिक वृद्धिका लागि कृषि, व्यवसाय, उद्योग, उद्यम, शिक्षा, कला, विभिन्न पेशा सबै क्षेत्रको उत्तिकै योगदान हुँदा हुँदै पनि कृषि क्षेत्रलाई दिगो आधारमा व्यवस्थित नगर्दा सम्म यस क्षेत्रलाइ प्रेरित गर्नु राज्यको दायित्व हो।
साथै राष्ट्रिय विशेषताहरुलाई प्रवर्द्धन गर्नु र अन्तर्राष्ट्रिय बजारसम्म जोड्नुले दिगोपना संस्थापन गर्न सक्छ। भौगोलिक विशेषता र वातावरणीय अनुकूलताका आधारमा लगानी गरी त्यसको अनुगमन गर्नु राज्यको दायित्व हो।
राज्यको संघीय संरचनाबाट आशावादी बनेका सबै समावेशी जनताका आवश्यकता पूरा हुन् र सरकारको ध्यान केन्द्रित होस भन्ने आशा सहित। उन्नत सृजनाहरु पक्कै पनि हाम्रो सन्दर्भमा लोभलाग्दा भैसकै, शान्ति र प्रगतिको कुरा सुन्न हामी धेरै नेपाली आतुर भैसक्यौ।
कृषि क्षेत्रलाई उकास्न चुनौतीपूर्ण छ तर असम्भव भने नहोला। जसको लागि सबैले आत्मा साक्षी राखी प्रतिज्ञा गर्नसकौँ की हरेक नेतृत्वले यो क्षेत्र उन्नतिका लागि प्राथमिकतामा राख्ने छ।
भनिन्छ नि, आफू जाने बेलामा अर्को पुस्तालाई के दिएर जाँदै छुले मात्र मनलाई अन्तिममा शान्तिको सास फेर्न सकिएला, सन्तोष कमाइएला।