तलब भत्ता तोकीएको भन्दा कम दिएको गुनासो सहित आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ। उनी म्यादि प्रहरी थिए।
शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी २४ वर्षका विवेक ऐडीको उक्त झडपमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सेतोपाटीलाई जानकारी दिए। गोलि लागेर हो की ढुंगा लागेर त्यो कुरा अझै पुष्टी नभएको पनि उनले बताए।
'२३/ २४ वर्षका विवेक ऐडीको मृत्यु भएको छ। प्रहरीले हवाइ फायर गरेको थियो तर गोली लागेको हो की ढुंगाले लागेर उनको मृत्यु भएको अझै थाहा लागेको छैन,' उनले भने, 'अस्पतालले पोष्टमार्टम पछी थाहा हुन्छ भनेको छ।'
म्यादी प्रहरीको कार्यावधि शुक्रबारसम्म मात्र थियो। प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार विदाई गरेर पठाएको २ घण्टा पछि म्यादी प्रहरी र स्थानीयहरु आएर जिल्ला प्रहरी कार्यालयमा ढुंगामुडा गरेका थिए। त्यसपछि प्रहरीले हवाइ फायर र अश्रु ग्याँस चलाएको उनले बताए।